काठमाडौं । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रिया अब थप सहज हुने भएको छ। यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गर्दै सरकारले सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटाएको हो।

पूर्वाधार विकास मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत दर्ता तथा नामसारीको काम गर्न सक्ने सुविधा दिएको छ। यससँगै सामान्य प्रशासनिक कामका लागि सवारी धनी आफैं कार्यालय धाउनुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

नयाँ व्यवस्थाअनुसार वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, सवारी खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित यातायात व्यवस्था कार्यालयमा उपस्थित भएर प्रक्रिया पूरा गर्न सक्नेछन्।

ADVERTISEMENT

संशोधनले सवारीसाधनको जाँच प्रक्रियालाई पनि सहज बनाएको छ। अब डिलरबाट जाँच भइसकेका सवारीसाधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन। यसले सवारी दर्ताका क्रममा लाग्ने समय र अनावश्यक झन्झट घटाउने अपेक्षा गरिएको छ।

त्यस्तै, सवारीसाधनको बीमा तथा बीमा नवीकरणका लागि पनि सवारी धनी स्वयं उपस्थित हुनुपर्ने व्यवस्था हटाइएको छ। यसबाट बीमा र नवीकरणसम्बन्धी काममा सेवाग्राहीलाई थप सहजता हुनेछ।

ADVERTISEMENT

सवारीसाधनको नामसारी गर्दा आवश्यक पर्ने बायोमेट्रिक विवरण संकलनलाई सहज बनाउन पनि नयाँ व्यवस्था गरिएको छ। त्यसका लागि यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउने व्यवस्था संशोधित निर्देशिकामा समेटिएको छ।