काठमाडौं । रुपन्देहीको मायादेवी गाउँपालिका–स्थित गुरुहनियाँ क्षेत्रमा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली प्रहार गरी दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले कारबाहीका क्रममा एक राउण्ड गोली चलाएको थियो। गोली लागेर एक भारतीय नागरिकको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुवास बोहराका अनुसार पक्राउ परेका दुवै जना भारतीय नागरिक लागुऔषध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले उनीहरूको साथबाट २०० ग्रामभन्दा बढी खैरो हेरोइन, एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ। उनीहरू मोटरसाइकलमा सवार रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





