काठमाडौं । नेपालको परराष्ट्र मन्त्रालय ले इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको भन्दै सार्वजनिक गरिएको सूचना गलत भएको स्वीकार गर्दै माफी मागेको छ। मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै झा अझै इरानमै थुनामा रहेको र उनको मुद्दा स्थानीय अदालतमा विचाराधीन अवस्थामा रहेको स्पष्ट पारेको हो।
यसअघि मन्त्रालयबाट झा रिहा भइसकेको जानकारी सार्वजनिक भएको थियो। तर पछिल्लो विज्ञप्तिमार्फत उक्त सूचना अनौपचारिक जानकारीका आधारमा बाहिरिएको भन्दै त्यसबाट उत्पन्न अन्योल र असुविधाप्रति मन्त्रालयले क्षमा प्रार्थना गरेको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र श्री झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालय क्षमा प्रार्थी छ।”
परराष्ट्र मन्त्रालयका अनुसार अमृत झाको मुद्दासम्बन्धी Expert Report तयार पार्न गठित विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने प्रक्रिया अघि बढाइरहेको छ। मन्त्रालयले इरानको कानुनअनुसार अदालतबाट मुद्दाको निरूपण हुने भएकाले निष्पक्ष सुनुवाइ सुनिश्चित गर्न तथा रिहाइका लागि निरन्तर कूटनीतिक पहल जारी राखिएको जनाएको छ।
मन्त्रालयले उपलब्ध सबै माध्यम प्रयोग गर्दै झाको कानुनी तथा मानवीय अधिकार संरक्षणका लागि पहल भइरहेको पनि उल्लेख गरेको छ।








