काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनालाई तीव्र बनाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा औसतमा २५ वटा समूह बनाएर विभिन्न पदको मत एकैसाथ गणना भइरहेको निर्वाचन समितिले जनाएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार बडादसैँलाई ध्यानमा राखेर मतगणना छिटो र प्रभावकारी बनाउन टोलीहरू परिचालन गरिएको छ।

ADVERTISEMENT

निर्वाचन समितिका अनुसार दुई क्लस्टरको मतगणना सकिएको छ भने चार क्लस्टरको गणना जारी छ। थप छ क्लस्टरको मतगणना सुरु गर्ने तयारी भइरहेको छ।

ADVERTISEMENT

जनसम्पर्क समितितर्फ दुई महिला र पाँच खुलासहित सात जना केन्द्रीय सदस्यको मतगणना सकिएको छ। पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्री र केन्द्रीय सदस्य पदको गणना पनि पूरा भएको छ।

हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र महिला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ। आदिवासी जनजातितर्फ सहमहामन्त्री र केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेशका खुला, महिला तथा ३५ वर्षमुनिका केन्द्रीय सदस्य र ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्यको मत पनि गणना भइरहेको छ।

ADVERTISEMENT

यसैगरी, धेरैको चासो रहेको खुलातर्फका ४५ जना केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने तयारी गरिएको छ। दलित, मधेसी, खस–आर्य, अल्पसंख्यक, अपाङ्गता, पेशागत तथा अन्य समावेशी क्लस्टरका विभिन्न पदको मतगणना पनि अघि बढाइने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिले बुधबारसम्म सबै पदको मतपरिणाम सार्वजनिक गर्ने लक्ष्यसहित गणना भइरहेको जनाएको छ।