काठमाडौं ।अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालमातहत निर्माण हुने चार सय केभी डबल सर्किट प्रसारण लाइन अन्तर्गतका दुई खण्ड निर्माणको बोलपत्र स्वीकृत भएको छ ।

न्यु बुटवल–नेपाल र भारत सीमाको ठेक्का सम्झौतापछि बाँकी २९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि गत वर्ष मङ्सिर १२ गते ठेक्का आह्वान गरिएको थियो । सोबमोजिम १८० किलोमिटर लामा दुई खण्डको लाइन निर्माण गर्न ठेक्का सम्झौता हुन लागेको हो । दुवै ठेक्काका अवधि ३६ महिना रहेको छ । प्रसारण लाइनका पाँच खण्डमध्ये अब दुई खण्डको निर्माण सम्झौता हुन बाँकी छ ।

ADVERTISEMENT

एमसीए नेपालका अनुसार न्यु दमौली–न्यु बुटवल प्रसारण लाइन र रातामाटे–न्यु दमौली प्रसारण लाइन निर्माणका लागि बिहीबार ठेकेदार कम्पनीसँग निर्माण सम्झौता हुँदैछ । कुल ३१५ किलोमिटरको प्रसारण लाइन परियोजना अन्तर्गत यसअघि १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माण गर्न ठेकेदार कम्पनीसँग सम्झौता भइसकेको छ ।

ADVERTISEMENT

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा निर्माणाधीन चार सय केभी क्षमताको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्म १८ किलोमिटर प्रसारण लाइन बनाउन भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडसँग सम्झौता भएको थियो।

बिहीबार ९० किलोमिटर लामो रातमाटे–न्यु दमौली प्रसारण लाइन निर्माणका लागि भारतको एनजेलिक–स्किपर संयुक्त उपक्रम (जेभी) सँग सम्झौता हुँदैछ । कम्पनीले उक्त लाइन निर्माण गर्न सात करोड ७४ लाख ८० हजार अमेरिकी डलरमा ठेक्का पाएको छ । यो खण्डमा २४८ वटा टावरसहित प्रसारण लाइन बन्ने छ ।

ADVERTISEMENT

त्यस्तै सात करोड ७० लाख तीन हजार अमेरिकी डलरमा निर्माण गर्ने गरी न्यु दमौलीदेखि न्यु बुटवलसम्मको ९० किलोमिटर प्रसारण लाइन वाइबा–सलार जेभीले पाएको छ । सो प्रसारण लाइनमा २४९ वटा टावर निर्माण गरिने छ । न्यु बुटवल–नेपाल र भारत सीमाको ठेक्का सम्झौतापछि बाँकी २९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि गत वर्ष मंसिर १२ गते ठेक्का आह्वान गरिएको थियो ।