काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरेको छ । प्रवक्ता विजय शाहले सोमबार विज्ञप्ति जारी गरेर मन्त्री गुरुङमाथि लागेका आरोपहरुमा निष्पक्ष छानबिन हुनु पर्ने माग गरेका हुन्।
‘पदमै रहेर अनुसन्धान गर्न गाह्रो हुन्छ र न्याय प्रक्रियामै समस्या आउँछ,’ मुभमेन्टले भनेको छ, ‘मन्त्री कसलाई बनाउने भन्ने विषय गम्भीर विषय हो, वर्तमान सरकारले परिपक्व, नेतृत्वदायी र दूरदर्शिता देखाउनै पर्छ ।’
मुभमेन्टले ७६ जनाको रगतले आएको परिवर्तनमा दोषी देखिएका, आरोप लागेकाहरु न्यायको कठघरामा आउनु पर्ने बताएको छ । उसले सरकारलाई पद, शक्ति र राजनीतिक संरक्षण कसैलाई हुन नहुने बताएको छ ।
गृहमन्त्री गुरुङविरुद्ध बिचौलिया दीपक भट्टसँग साझेदारी रहेको आरोप लागेको छ। सम्पत्ति शुद्धीकरणअन्तर्गत हिमालयन रिइन्स्योरेन्ससहित थुप्रै बिमा कम्पनीको ठगीउपर छानविन सिलसिलामा हाल सानेपास्थित प्रहरी हिरासतमा रहेका बिचौलिया भट्ट र गृहमन्त्री गुरुङबीच ब्यापारिक साझेदारीको प्रमाण भेटिएपछि उनी विवादमा तानिएका हुन् ।
दुईबीचको साझेदार कम्पनी हो, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड । जसको दर्ता नम्बर ३०४६७०र०७९–८० रहेको छ । सञ्चालक लगतको तेस्रो नम्बरमा दिपक भट्टको कम्पनी इन्फिनिटी होल्डिङ्सकी प्रतिनिधि कर्मचारी श्रीमती प्रजुनी बज्राचार्यको नाम छ । साझेदारीको ४९ नम्बरमा गोर्खा चुमनुब्री–२ बस्ने दिलबहादुर गुरुङका छोरा सुधन गुरुङको नाम छ । सुधनको नागरिकता नम्बर ११३७९ राखिएको छ भने उनका नाममा २५ हजार कित्ता सेयर जारी भएको छ ।
गृहमन्त्री गुरुङले सम्पत्ति विवरण बुझाउँदा इन्फिनिटी होल्डिङ्समा २५ हजार कित्ता सेयर उल्लेख त गरेका थिए तर सबै विवरण खुलाएका थिएनन् । अहिले यी सबै विवरण एकपछि अर्को गरी खुलेपछि उनी विवादमा तानिएका हुन् ।







