काठमाडौं ।नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार बजारमा भएको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (क)’ जारी गर्न लागिएको हो। बैंकले मंगलबार सूचना जारी गर्दै एक वर्ष अवधिको उक्त ऋणपत्र बोलकबोल (अक्सन) प्रक्रियामार्फत निष्कासन गर्न लागेको जनाएको छ।

राष्ट्र बैंकका अनुसार ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बोलकबोल असार १६ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ भने सोही दिन निष्कासन गरिनेछ। ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ र ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने राष्ट्र बैंकको भनाइ छ। यो ऋणपत्रमा न्यूनतम पाँच करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँकै गुणकमा कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ। ऋणपत्रको परिपक्व अवधि एक वर्षको रहनेछ र साँवा रकम २०८४ असार १६ गते फिर्ता गरिनेछ। राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले बोलकबोल पेस गर्न सक्नेछन्।

ADVERTISEMENT

राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको ऋणपत्र बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। यद्यपि, यसमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात तथा खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।