काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याइएको बजेट महत्वाकांक्षी नभएको र अर्थतन्त्रको आकारअनुसार सन्तुलित रहेको बताएका छन्।
शनिबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले बजेटको आकारलाई लिएर उठेका टिप्पणीहरूको जवाफ दिँदै बजेट ठूलो देखिए पनि कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को अनुपातमा हेर्दा यो अपेक्षाकृत सानो रहेको बताए।
उनका अनुसार आगामी आर्थिक वर्षको बजेट अनुमानित जिडिपीको २८ दशमलव ५ प्रतिशत मात्र रहेको छ। उनले विगतका वर्षहरूमा बजेट सार्वजनिक भएपछि कार्यान्वयन क्षमतामाथि प्रश्न उठ्ने गरेको स्मरण गर्दै यसपटकको बजेट भने कार्यान्वयनयोग्य सीमाभित्र रहेको दाबी गरे।
वाग्लेले आफू सन् २०१४ देखि नेपालको बजेट निर्माण प्रक्रियासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै सन् २०१५ को विनाशकारी भूकम्पपछि बजेटको आकार उल्लेख्य रूपमा बढ्न थालेको बताए। उनका अनुसार भूकम्पअघि नेपालको बजेट सामान्यतः जिडिपीको २५ देखि २९ प्रतिशतको हाराहारीमा रहने गरेको थियो भने वास्तविक खर्च २२ देखि २५ प्रतिशतसम्म सीमित हुने गर्थ्यो।
भूकम्पपछिको पुनःनिर्माण, पूर्वाधार विकास तथा विभिन्न पुनरुत्थान कार्यक्रमका कारण बजेटको आकार विस्तार हुँदै गएको उनले बताए। केही वर्षमा बजेटको आकार जिडिपीको ३७ प्रतिशतसम्म पुगेको उदाहरण प्रस्तुत गर्दै उनले हालको बजेट तुलनात्मक रूपमा संयमित रहेको तर्क गरे।
सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेट सार्वजनिक भएसँगै यसको आकार, कार्यान्वयन क्षमता तथा स्रोत व्यवस्थापनबारे विभिन्न क्षेत्रबाट बहस सुरु भएको छ। अर्थमन्त्री वाग्लेले भने बजेटको आकारभन्दा यसको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।






