काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार २०० ले घटेर रु दुई लाख ९७ हजार ३०० कायम भएको छ। त्यसैगरी चाँदीको मूल्य प्रतितोला रु १० ले घटेर रु चार हजार ९८० मा झरेको छ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९८ हजार ५०० र चाँदी रु चार हजार ९९० मा कारोबार भएको थियो। एक दिनमै सुनको मूल्यमा आएको गिरावटले पछिल्ला केही सातादेखि देखिएको तीव्र उतारचढावलाई निरन्तरता दिएको छ।

महासङ्घका अनुसार अन्तरराष्ट्रिय बजारमा मूल्यमा आएको सामान्य नरमपनको प्रभाव नेपाली बजारमा पनि परेको हो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३४९ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
विशेषज्ञहरूका अनुसार विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, प्रमुख केन्द्रीय बैंकहरूको मौद्रिक नीतिसम्बन्धी संकेत, अमेरिकी डलरको उतारचढाव तथा भू–राजनीतिक घटनाक्रमले सुनचाँदीको मूल्य निर्धारणमा प्रभाव पार्ने गरेका छन्। सुरक्षित लगानीका रूपमा हेरिने सुनको माग बढ्दा मूल्य उकालो लाग्ने र बजारमा जोखिमको धारणा कम हुँदा मूल्यमा दबाब पर्ने गरेको छ।
नेपालमा सुनचाँदीको मूल्य अन्तरराष्ट्रिय बजारको मूल्य, अमेरिकी डलरको विनिमयदर तथा आयात लागतका आधारमा दैनिक रूपमा निर्धारण हुने गरेको छ। पछिल्लो समय सुनको मूल्य ऐतिहासिक उच्च विन्दु नजिक रहँदा विवाह तथा चाडपर्व लक्षित गहनाको मागमा केही असर परेको व्यवसायीहरू बताउँछन्।






