काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङ्क सार्वजनिक गर्दै देशको आर्थिक तथा वित्तीय स्थिति सन्तोषजनक रहेको जनाएको छ।
राष्ट्र बैंकको प्रतिवेदन अनुसार वार्षिक उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित छ। यस अवधिमा विदेशी विनिमय सञ्चिति रु ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ, जुन अमेरिकी डलरमा करिब २२ अर्ब १७ करोड बराबर हो। बैंकका अनुसार यो सञ्चिति १८.१ महिनासम्मको वस्तु र सेवा आयात धान्न पर्याप्त रहेको छ।
छ महिनामा चालु खाता रु ४ खर्ब २९ अर्ब र शोधनान्तर रु ५ खर्ब १ अर्बमा रहेको छ। रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले वृद्धि भएको छ। पुस महिनामा मात्र १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँको विप्रेषण भित्रिएको छ।
विदेश व्यापारतर्फ निर्यात ४३.८ प्रतिशत र आयात १४.२ प्रतिशतले बढेको छ। सरकारको कूल खर्च रु ६९० अर्ब २२ करोड र राजस्व संकलन रु ५७७ अर्ब ४० करोड पुगेको छ।
मौद्रिक सूचकमा विस्तृत मुद्राप्रदाय ५.४ प्रतिशतले बढेको छ भने वार्षिक आधारमा १४.२ प्रतिशत वृद्धि देखिएको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ५.७ प्रतिशत र निजी क्षेत्रको कर्जा ३.६ प्रतिशतले वृद्धि भएको छ। वार्षिक आधारमा निक्षेप वृद्धिदर १४.८ प्रतिशत र कर्जाको ६.७ प्रतिशत रहेको छ।
ब्याजदरमा बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत, ९१ दिनको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३५ प्रतिशत, वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको औसत ब्याजदर ७.१२ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ।










