काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयको निम्तोमा रवि अर्को साता दुई दिने भारत भ्रमणमा जान लागेका हुन् ।
स्रोतका अनुसार लामिछानेले आफ्नो भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विक्रम मिश्रीसँग उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम छ। उनले भारत सरकारका अन्य धेरै मन्त्रीहरूसँग पनि भेट गर्ने कार्यक्रम थय भएको छ।
भारतको विदेश मन्त्रालयले कुनै पनि देशको सत्तारुढ पार्टीका सभापतिलाई औपचारिक भ्रमणको निम्तो दिनुलाई अर्थपूर्ण मानिएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालको आधिकारिक कार्य भ्रमण अचानक स्थगित भएको केही दिनपछि नै रविको भारत भ्रमणलाई लिएर विभिन्न अनुमान गर्न थालिएको छ ।
वालेन्द्र शाह बालेन नेतृत्वको सरकार र नयाँ दिल्लीबीचको चिसोपनकै बीचमा लामिछानेको भ्रमणले सबैको ध्यान केन्द्रित गरेको छ। रास्वपाले भने औपचारिक रूपमा रविको भारत भ्रमणबारे कुनै जानकारी दिएको छैन । रविकाे भ्रमणपछि मात्रै प्रधानमन्त्री बालेनकाे भारत भ्रमण हुने कि नहुने भन्ने तय गर्ने बताइएकाे छ ।






