काठमाडौं,फागुण १३।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बुधबार सर्लाही-४ पुगेका छन् र मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी अभियान सुरु गरेका छन्। यही क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पनि उम्मेदवार छन्, जसले यस निर्वाचनलाई थप प्रतिस्पर्धात्मक बनाएको छ।

लामिछानेले सम्बोधनका क्रममा प्रत्यक्ष नाम नलिए पनि कांग्रेस सभापति थापालाई ‘मधेशको बेटा’ भन्दै काठमाडौँबाट आएका उम्मेदवारप्रति असन्तुष्टि प्रकट गरे। उनले मतदातालाई सम्झाउँदै भने, “मलाई थाहा छ अमरेश जी जित्छन्, तर यदि यो ठाउँमा अमरेश जी नभएपनि यहाँको स्थानीय मतदाताले नै जीत्थ्यो। अब काठमाडौँबाट आएर मधेशको बेटा भन्दै स्थान कब्जा गर्ने प्रयास रोक्नु आवश्यक छ।”

उनले अब चुनावी अभियानमा ‘मधेशी–पहाडी’ र ‘यहाँको मान्छे, त्यहाँको मान्छे’ भन्ने विभाजनको राजनीतिलाई अन्त्य गर्नुपर्नेमा जोड दिए। “देशको हित, न्याय र समग्र विकासको सवालमा अब सबैले एउटै दृष्टिकोण अपनाउनुपर्छ,” लामिछानेले भने।

सर्लाही-४ यसअघि दुई पटक कांग्रेस र एकपटक स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंहले जितेका थिए। लामिछानेले यस क्षेत्रमा आफूले पहिले न्याय दिन प्रयास गरेको स्मरण गर्दै, यसपटक आफूलाई पनि न्याय दिनुपर्ने आग्रह गरे। उनले मतदातालाई अपिल गर्दै भने, “हिजो सर्लाहीलाई अन्याय पर्दा म उभिएको थिएँ, यसपटक अलिकति न्याय मलाई चाहिएको छ। देशलाई न्याय र सहयोग आवश्यक छ।”