राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज ‘विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन’ विषयमा राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्दैछ ।
रास्वपाको पार्टी–संसद्–सरकार समन्वय समितिले आयोजना गर्ने कार्यक्रममा विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण तथा उत्थानशील प्रणाली निर्माणका विषयमा छलफल गरिने जनाइएको छ ।
पार्टीका महामन्त्री भूपदेव शाहका अनुसार अपराह्न ३ बजेदेखि सुरु हुने कार्यक्रममा विपद् उत्थानशीलता विषयगत प्रमुख प्राविधिक सहायता तथा रणनीतिक सिकाइ परियोजनाका प्रतिनिधि डा. गौरव सागर दवाडी प्रमुख वक्ताका रूपमा रहनेछन् ।
कार्यक्रममा जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेश उप्रेती, विपद् जोखिम न्यूनीकरण तथा मानवीय कार्यका लागि महिला मञ्चकी प्रतिनिधि कृष्णा कार्की, समावेशी विकास तथा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक विमल गदाल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त प्रमुख अमृत श्रेष्ठले अनुभव र धारणा प्रस्तुत गर्नेछन् ।
रास्वपाले नीति निर्माण, विपद् पूर्वतयारी, उद्धार तथा पुनःस्थापनासम्बन्धी विषयमा सरोकारवालाबीच साझा छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ ।




