त्रिवेणी (नवलपुर)। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरको जिल्ला सभापतिमा दोमनबहादुर भण्डारी निर्वाचित भएका छन्। सोमबार राति सम्पन्न निर्वाचनमा १४२ मत प्राप्त गर्दै भण्डारी सभापतिमा विजयी भएका हुन्।
निर्वाचन संयोजक मीना शर्मा आचार्यका अनुसार सभापतिका अर्का प्रतिस्पर्धी गोकुल सापकोटाले १३९ मत र कृष्णप्रसाद शर्माले १३६ मत प्राप्त गरेका थिए। तीन उम्मेदवारबीचको प्रतिस्पर्धामा भण्डारी झिनो मतान्तरले विजयी बनेका हुन्।
अधिवेशनबाट उपसभापतिमा जगबहादुर राना, सचिवमा सुदीप न्यौपाने तथा सहसचिवमा सन्तबहादुर ठाडा निर्वाचित भएका छन्। साथै, अधिवेशनले २१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति समेत चयन गरेको छ।
आइतबारदेखि सुरु भएको रास्वपा नवलपुरको प्रथम जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिएको थियो। तर सहमति जुट्न नसकेपछि सोमबार साँझ मतदानमार्फत नेतृत्व चयन गरिएको हो।
निर्वाचनमा कुल ७५६ मतदाता रहेकामा ४३३ जनाले मतदान गरेका थिए। निर्वाचन परिणामसँगै नवलपुरमा रास्वपाको नयाँ नेतृत्वले संगठन विस्तार र पार्टी सुदृढीकरणको जिम्मेवारी सम्हाल्ने भएको छ।








