काठमाडौं । राष्ट्रवादी, राजावादी तथा देशभक्त शक्तिलाई एकताबद्ध गर्ने उद्देश्यसहित दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियान र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान महामन्त्री धवलशमशेर राणा नेतृत्वको समूहबीच एकता भएको छ।

दुवै समूहले संयुक्त रूपमा नयाँ राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन्। उनीहरूका अनुसार पुराना राजनीतिक शक्तिको विकल्प खोज्ने क्रममा राष्ट्रवादको मुद्दामा एकाकार हुँदै नयाँ राजनीतिक अभियान अघि बढाइनेछ।

ADVERTISEMENT

एकीकृत समूहले सनातन हिन्दु अधिराज्य पुनर्स्थापना, पृथ्वीनारायण शाहको दिव्योपदेशमा आधारित राजनीतिक दर्शन तथा ‘एकपटकको नेपाली सधैंको नेपाली’ अवधारणाअन्तर्गत दोहोरो नागरिकताको व्यवस्था गर्ने एजेन्डालाई प्राथमिकतामा राख्ने जनाएको छ।

ADVERTISEMENT

समूहले वर्तमान राजनीतिक शक्तिहरूको विकल्पका रूपमा आफूहरूलाई स्थापित गर्ने दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत नयाँ राजनीतिक शक्तिहरूको समेत विकल्प प्रस्तुत गर्ने लक्ष्य लिएको बताएको छ।

दुवै पक्षबीच एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भइसकेको भए पनि नवगठित पार्टीको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन।

ADVERTISEMENT

नयाँ पार्टीको संगठन संरचना, नेतृत्व तथा आगामी राजनीतिक कार्यक्रमबारे थप विवरण भने आगामी दिनमा सार्वजनिक गरिने जनाइएको छ।