काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भएको दुईदिने उच्चस्तरीय शिखर वार्ता सम्पन्न भएको छ। वार्तापछि राष्ट्रपति ट्रम्प चीनबाट प्रस्थान गरेका छन्।

दुवै नेताले विश्वका लागि सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धलाई स्थायित्व दिनुपर्नेमा जोड दिएका छन्। वार्ताका क्रममा दुवै पक्षले एकअर्काको प्रशंसा गर्दै सम्बन्ध सुधारतर्फ प्रगति भएको दाबी गरे पनि कुनै ठोस सम्झौता वा महत्वपूर्ण उपलब्धि सार्वजनिक गरिएको छैन।

ADVERTISEMENT

वार्तापछि प्रतिक्रिया दिँदै ट्रम्पले व्यापारसम्बन्धी “उत्कृष्ट” सम्झौताहरू भएको दाबी गर्दै धेरै समस्या समाधान भएको बताएका छन्। तर, बेइजिङ छाड्नुअघि कुनै ठूला व्यापारिक सहमति सार्वजनिक नगरिएकाले वार्ताको ठोस उपलब्धिमाथि प्रश्न उठेको छ।

ADVERTISEMENT

वार्ताको पहिलो दिन चिनियाँ राष्ट्रपति सीले ताइवानसम्बन्धी विषयलाई संवेदनशील भन्दै यसको गलत व्यवस्थापनले “ठक्कर र द्वन्द्व” निम्त्याउन सक्ने चेतावनी दिएका थिए। ताइवान चीन–अमेरिका सम्बन्धमा सबैभन्दा संवेदनशील मुद्दामध्ये एक मानिन्छ।

वार्तापछि अलास्कातर्फ प्रस्थान गर्ने क्रममा ट्रम्पले ताइवानलाई हतियार बिक्री गर्ने वा नगर्नेबारे अझै अन्तिम निर्णय नभएको बताएका छन्।

ADVERTISEMENT

यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अन्तरास्ट्रिय मिडियासंग कुरा गर्दै वार्तामा इरान युद्ध र स्ट्रेट अफ हर्मुजको नाकाबन्दीबारे पनि छलफल भएको जानकारी दिएका छन्। उनका अनुसार ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका लागि चीनसँग प्रत्यक्ष सहयोग भने नमागेको स्पष्ट पारेका छन्।