काठमाडौं । सरकारले निजामती कर्मचारी तथा स्वास्थ्य सेवासँग सम्बन्धित १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले राष्ट्रियस्तरमा दर्ता भई क्रियाशील रहेका ८ वटा निजामती कर्मचारीका र ४ वटा स्वास्थ्य सेवाका कर्मचारीका ट्रेड युनियनको दर्ता खारेज गर्ने निर्णय गरेको हो ।

विभागका अनुसार संवत् २०८३ सालको अध्यादेश नम्बर ०७ ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ को आधारमा पञ्जिकाधिकारीले वैशाख २३ गते उक्त निर्णय गरेका हुन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता ई. मणिनाथ गोपले विभागमा दर्ता भएका राष्ट्रियस्तरका सबै निजामती कर्मचारी तथा स्वास्थ्य सेवाका कर्मचारीका ट्रेड युनियन कानुनी व्यवस्थाअनुसार खारेज गरिएको जानकारी दिए ।

सरकारको यो निर्णयसँगै निजामती तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियनहरूको वैधानिक हैसियत समाप्त भएको छ । अध्यादेशमार्फत गरिएको यो निर्णयले कर्मचारी संगठनहरूको संरचना र उनीहरूको गतिविधिमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ ।

यस विषयमा सम्बन्धित ट्रेड युनियनहरूले भने औपचारिक प्रतिक्रिया जनाइसकेका छैनन् । यद्यपि सरकारी निर्णयप्रति कर्मचारी वृत्तमा चासो र बहस सुरु भएको छ ।

सरकारले सार्वजनिक सेवा क्षेत्रमा ट्रेड युनियन व्यवस्थापन र प्रशासनिक सुधारलाई लक्षित गर्दै यो कदम चालेको बताइएको छ ।

यी हुन् दर्ता खारेजी भएका १२ युनियन