काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन शाह नेतृत्वको वर्तमान सरकार निरंकुशताको बाटोमा अघि बढिरहेको आरोप लगाएका छन्।

बिहीबार रुकुम पश्चिमको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले लोकतान्त्रिक मूल्य र संसदीय परम्पराविपरीत गतिविधि गरिरहेको बताएका हुन्।

ADVERTISEMENT

प्रचण्डले सरकारले ट्रेड युनियनदेखि विद्यार्थी संगठनसम्म खारेज गर्ने तयारी गरिरहेको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाए।

अध्यादेशमार्फत कानुन ल्याउने सरकारी कदमको आलोचना गर्दै उनले संसद् छल्ने प्रयास भएको टिप्पणी गरे।

ADVERTISEMENT

उनले भने, “सदनलाई छलेर अध्यादेश ल्याउने र बोलाइसकेको अधिवेशन रोक्ने विधि लोकतन्त्रको विरुद्धमा छ। यो संसदीय परम्पराको समेत विपरीत हो। त्यसो नगर्न हामीले सरकारलाई सावधान गराएका छौँ। यस्तो अलोकतान्त्रिक विधि अपनाउनु संविधानविपरीत हो।”

प्रचण्डले सरकारले अध्यादेशको माध्यमबाट शासन सञ्चालन गर्न खोज्नु लोकतान्त्रिक प्रणाली कमजोर बनाउने प्रयास भएको आरोप लगाए।

पत्रकार सम्मेलनमा उनले सुकुमबासी व्यवस्थापनको विषयमा पनि सरकारको आलोचना गरे।

वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गरेर सुकुमबासी हटाउने तथा डोजर चलाउने काम गलत भएको उनको भनाइ थियो।

“यदि सुकुमबासीहरू गलत तरिकाले अतिक्रमण गरेर बसेका छन् भने पनि उनीहरूको वास्तविक अवस्था बुझेर छानबिन गर्नुपर्छ। तर सरकारले हतारमा बल प्रयोग गर्‍यो,” उनले भने।

प्रचण्डले तत्कालीन माओवादी नेतृत्वको सरकारका पालामा सुकुमबासीको व्यवस्थापनका लागि अपार्टमेन्ट निर्माणको योजना अघि बढाइएको स्मरण गराउँदै त्यसलाई पूर्णता दिन नसकिएको बताए।

उनले अहिले सेना र सशस्त्र प्रहरी परिचालन गरेर हजारौँ परिवारलाई बिचल्ली बनाइएको आरोपसमेत लगाए।

सरकारलाई सुकुमबासीहरूको व्यवस्थापनमा तत्काल ध्यान दिन आग्रह गर्दै उनले मानवीय दृष्टिकोणबाट समाधान खोज्नुपर्ने बताए।

साथै, प्रचण्डले सरकारका सकारात्मक काममा आफ्नो पार्टीले सहयोग गर्ने तर जनविरोधी र संविधानविपरीत कदमको कडा विरोध गर्ने स्पष्ट पारे।