काठमाडौं । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न भन्दै प्रधानमन्त्री वालेन्द्र शाह बालेन कठोर भएर प्रस्तुत भएपछि आत्तिएका उद्योगी व्यवसायीलाई आश्वस्त बनाउने प्रयासमा रास्वपा सभापति रवि लामिछाने लागेका छन् । उनले आइतबार निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेका छन् ।

रास्वपाले आयोजना गरेको निजी क्षेत्रसँगको संवाद कार्यक्रममा व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूले दुई तिहाइ बहुमत नजिकको सरकारसँग धेरै आश रहेको भन्दै मुलुकभित्र लगानीको वातावरण तयार गर्न विशेष प्याकेजहरुको घोषणा गर्न माग गरेका हुन् । उद्योगी व्यवसायीले मुलुकमा लगानीको वतावरण बन्न नसकेको भन्दै रास्वपालाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह गरे ।

ADVERTISEMENT

उद्योगी वरुण चौधरीले वर्तमान सरकारप्रति निजी क्षेत्रको ठूलो अपेक्षा रहेको बताए । विदेशी लगानीकर्ताहरू नेपालका हाइड्रोपावर, विमानस्थल, पूर्वाधार, सूचना प्रविधि र पर्यटन क्षेत्रमा सकारात्मक भए पनि उनीहरूलाई आकर्षित गर्ने उपयुक्त वातावरणको अभाव रहेको उनले बताए । त्यसका लागि नेपालको अन्तर्राष्ट्रिय छवि सुधार्न जरुरी रहेको बताउँदै लगानीकर्तालाई आवश्यक सुविधा र भरोसाको वातावरण दिनुपर्ने बताए ।

उद्योगी किशोर प्रधानले आगामी बजेटमार्फत सरकारले मुलुकमा मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागू गर्नुपर्ने बताए । धेरै वर्षदेखि उठ्दै आएको यो विषय कर्मचारीतन्त्रको असहयोगका कारण लागू नभएको उनको आरोप थियो । अहिले सूचना प्रविधिको विकाससँगै बहुदर प्रणाली लागू गर्न सम्भव भएको भन्दै उनले एउटै १३ प्रतिशत दरले सबै वस्तुमा कर लगाउनु उपयुक्त नहुने बताए ।

व्यवसायी दीपक मल्होत्राले रास्वपाले अघि सारेको सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने, १०० बिलियन डलरको अर्थतन्त्र र उच्च आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य महत्वाकांक्षी भए पनि सम्भव रहेको बताए । तर त्यसका लागि निजी क्षेत्रसँग सहकार्य हुन जरुरी रहेको बताए । उनले अनौपचारिक रूपमा भइरहेको कारोबारलाई औपचारिक अर्थतन्त्रमा ल्याउनुपर्नेमा जोड दिँदै त्यसका लागि भन्सार दर, आयकर,अन्तःशुल्क तथा विभिन्न दस्तुरहरू घटाउनुपर्ने सुझाव दिए। कर दर घटाएर प्रणालीलाई सरल र आकर्षक बनाउनसके मात्रै व्यवसायहरू औपचारिक दायरामा आउने उनको तर्क थियो ।

एनसेल प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले नेपालको टेलिकम पूर्वाधार निकै कमजोर रहेको बताउँदै नेपालमा वातावरण तयार भए एनसेल थप लगानी गर्न तयार रहेको बताए । उनले हाल पूर्वाधार कमजोर भएकै कारण अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्ने क्षमता कमजोर भएको बताए ।

फोलेकाअनुसार नेपालमा ५ जी मात्र होइन, फाइबर नेटवर्क, डाटा सेन्टर, अन्तर्राष्ट्रिय कनेक्टिभिटी र भू–उपग्रह कनेक्टिभिटी जस्ता आधारभूत पक्षमा व्यापक लगानी आवश्यक छ । केन्द्रीय बैंक डिजिटल मुद्रा, क्रिप्टो, एआई, कम्प्युटर सेवा, डिजिटल सेवाहरू र ब्लकचेनजस्ता क्षेत्रमा लक्ष्य राख्ने हो भने सयौं मिलियन डलरको लगानी अनिवार्य हुने उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, स्वतन्त्र ऊर्जा उत्पादक संघ इप्पानका अध्यक्ष गणेश कार्कीलगायतले निजी क्षेत्रसँग रास्वपाले गरेको संवादले मनबोल केही बढाएको बताए । उनीहरुले लगानी वृद्धि गर्न नीतिगत सुधारको माग गरे ।

निजी क्षेत्रका प्रतिनिधिहरुको चासो सुनेपछि लामिछानेले भने, ‘निजी क्षेत्र सशंकित भएको, अलि डराएको जस्तो देखेर नै म तपाईंहरूसँग बस्न चाहेको हुँ । तपाईंहरू डराउनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरूलाई कुनै खालको दुःख दिन चाहँदैनौं ।’

लामिछानेले केही व्यवसायीहरू तथा पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारणले सरकार निर्मम भएर लाग्नु परेको स्पष्ट पारे । ‘यसलाई बेलैमा नियन्त्रण गर्न आवश्यक छ, सरकारले अहिले यही गरेको हो,’ उनले भने, ‘धरपक्कडका विषयमा म तपाईंहरूलाई स्पष्ट भन्छु, हामी सुशासन र आर्थिक वृद्धिको डिपार्चरमा जान चाहन्छौं । यसमा केही असहज हुन सक्छ ।’

पछिल्लो समय सम्पत्ति शुद्धीकरण, ठगीलगायतका कसुरमा केही उद्योगी व्यवसायी पक्राउ परेपछि निजी क्षेत्रले व्यवसायीमाथि धरपकड नगर्न सरकारसँग माग गर्दै आइरहेको छ ।