काठमाडौं । नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि नेपाली वस्तुले अन्तर्राष्ट्रिय बजारमा सामना गर्न सक्ने चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सरकार र निजी क्षेत्रले तत्काल तयारी थाल्नुपर्नेमा निर्यात व्यवसायीहरूले जोड दिएका छन्।

स्तरोन्नतिको समयावधि थपिए पनि त्यसलाई तयारीका लागि उपलब्ध अतिरिक्त समयका रूपमा उपयोग गर्दै निर्यात प्रवर्द्धन, उत्पादनको गुणस्तर सुधार, लागत न्यूनीकरण र अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको पहुँच विस्तार गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ।

ADVERTISEMENT

निर्यात व्यवसायी महासंघ नेपाल (फिन) को आयोजना तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा बिहीबार ललितपुरको कुपण्डोलस्थित होटल हिमालयनमा आयोजित ‘नेपालको एलडीसी स्तरोन्नति : निर्यातमुखी उद्यमका चुनौती र अवसर’ विषयक राष्ट्रिय संवादमा सहभागी सरकारी अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूले यस्तो धारणा राखेका हुन्।

ADVERTISEMENT

नेपालले एलडीसीबाट स्तरोन्नति हुने समयावधि थप गर्न तीन वर्षको समय माग गरेको सन्दर्भमा सहभागीहरूले तयारीलाई पछि सार्न नहुने बताए। उनीहरूले निर्यात प्रवर्द्धन र औद्योगिक विकासका लागि सरकारले अघि सारेका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नीति निर्माणमा मात्र सीमित नभई कार्यान्वयनलाई प्राथमिकता दिन, निजी क्षेत्रले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न र निर्यातमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरिएको थियो।

ADVERTISEMENT

विशेषगरी साना तथा मझौला निर्यातमुखी उद्यमको क्षमता विकास, उत्पादन लागत घटाउने, उत्पादकत्व बढाउने र गुणस्तर सुधार गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सहभागीहरूको निष्कर्ष थियो।

परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत निकाय महाशाखाका प्रमुख एवं सहसचिव कृष्णप्रसाद ढकालले निजी क्षेत्रलाई सुदृढ बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनु सरकारको प्राथमिकता रहेको बताए।

परराष्ट्र मन्त्रालयको आर्थिक कूटनीतिक महाशाखाका प्रमुख मणिरत्न शर्माले विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले निर्यात प्रवर्द्धनका लागि कार्ययोजना बनाएर काम गरिरहेको जानकारी दिए। स्तरोन्नतिका चुनौती सामना गर्न समयमै तयारी गर्नुपर्ने उनको भनाइ थियो।

निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले स्तरोन्नतिपछि नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा सामना गर्न सक्ने चुनौतीलाई ध्यानमा राख्दै उत्पादन लागत न्यूनीकरण, गुणस्तर सुधार, उत्पादकत्व वृद्धि र प्रतिस्पर्धात्मक क्षमता विकासमा जोड दिए। नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन आवश्यक रहेको उनले बताए।

अन्तर्राष्ट्रिय श्रम संगठनको एलडीसी स्तरोन्नति परियोजनाका राष्ट्रिय परियोजना संयोजक प्रकाश शर्माले स्तरोन्नतिलाई चुनौतीका रूपमा मात्र नभई अवसरका रूपमा लिनुपर्ने बताए। त्यसका लागि तत्काल तयारी सुरु गर्नुपर्ने उनको धारणा थियो।

फिनका वरिष्ठ उपाध्यक्ष देवानन्द सरावगीले स्तरोन्नतिको समयावधि थपिए पनि तयारीमा ढिलाइ गर्न नहुने बताए। अहिलेबाटै योजनाबद्ध रूपमा काम गर्न सके मात्र थपिएको समयको सदुपयोग हुने उनको भनाइ थियो।

कार्यक्रममा साउथ एसियन वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भारमेन्टका कार्यकारी निर्देशक डा. पारस खरेलले ‘एलडीसी स्तरोन्नति : निर्यातमुखी साना तथा मझौला उद्यमका अवसर, चुनौती र प्रभाव’ विषयमा तथ्यांकसहित प्रस्तुति दिएका थिए।

त्यसपछि भएको प्यानल छलफलमा सरकारी निकाय तथा निजी क्षेत्रका प्रतिनिधिहरूले स्तरोन्नतिले निर्यातमुखी उद्यममा पार्न सक्ने प्रभाव, चुनौती र सम्भावित अवसरबारे धारणा राखेका थिए।

इन्स्टिच्युट फर फ्युचरका अध्यक्ष भोजराज पौडेलले सहजीकरण गरेको छलफलमा परराष्ट्र मन्त्रालयका आर्थिक कूटनीतिक महाशाखाका उपसचिव खगराज पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव रामहरि पाण्डे र नेपाल घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङ सहभागी थिए।

खुला छलफल तथा अन्तरक्रियात्मक सत्रमा सहभागीहरूले निर्यात क्षेत्रका विद्यमान समस्या, सम्भावना र आगामी कार्यदिशाबारे विचार आदानप्रदान गरेका थिए। सरकारी नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सरकार र निजी क्षेत्रबीच समन्वय, निर्यात उद्यमीको क्षमता विकास तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तारका लागि तत्काल पहल गर्नुपर्ने निष्कर्ष निकालिएको थियो।

नेपालको एलडीसी स्तरोन्नतिसम्बन्धी चुनौती र अवसरबारे साझा धारणा निर्माण गर्दै निर्यात क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रले संयुक्त रूपमा अघि बढ्नुपर्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको फिनका कार्यकारी निर्देशक रामसुदन तिमल्सिनाले बताए।