काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उच्च गिरावट आएको छ। दिनभरजसो ओरालो लागेको नेप्से परिसूचक ३२.६५ अंक घटेर २ हजार ६५७ अंकमा झरेको छ।

अघिल्लो कारोबार दिन नेप्से ५ अंक मात्रै घटेको थियो। सोमबार परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ। अघिल्लो दिन ८ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएकोमा आज ७ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ।

ADVERTISEMENT

आज कारोबार भएका कम्पनीमध्ये २१ वटाको सेयर मूल्य बढेको छ भने २५२ वटाको घटेको छ। ६ कम्पनीको मूल्य भने स्थिर रह्यो। बजारका सबै समूहगत सूचक राताम्मे बनेका छन्।

ADVERTISEMENT

सबैभन्दा धेरै विकास बैंक समूह १.८८ प्रतिशत घटेको छ। निर्जीवन बीमा १.७२, अन्य १.६१, फाइनान्स १.५३, जीवन बीमा १.४७, लगानी १.४२, माइक्रोफाइनान्स १.१६, जलविद्युत् १.०८, बैंकिङ १.०७, उत्पादन तथा प्रशोधन ०.९०, व्यापार ०.८६ र होटल तथा पर्यटन समूह ०.६३ प्रतिशत घटेका छन्।

बजार घटे पनि हालै सूचीकृत बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढेको छ। मकर जितुमाया सुरी हाइड्रोपावर ८.७७, मन्दाकिनी हाइड्रोपावर ५.४७, एनआईसी एसिया बैंक ३.०२ र बुटवल पावर कम्पनी २.४८ प्रतिशत बढेका छन्।

त्यस्तै, झापा इनर्जीको सेयर मूल्य ४.११, सांग्रिला डेभलपमेन्ट बैंकको ४.०८, एनएलजी इन्स्योरेन्सको ३.८३ र माउन्ट एभरेस्ट पावरको ३.५६ प्रतिशत घटेको छ।

आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा घलेम्दी हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, लुम्बिनी विकास बैंक, मकर जितुमाया सुरी हाइड्रोपावर, ग्रिन भेन्चर्स, एनआईसी एसिया बैंक र प्राइम कमर्सियल बैंक रहेका छन्।