काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा विकास बैंकहरूको नाफामा मिश्रित अवस्था देखिएको छ।

सञ्चालनमा रहेका १७ विकास बैंकमध्ये १६ वटाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार १४ बैंक नाफामा छन् भने दुई बैंक घाटामा छन्। कर्णाली विकास बैंकको वित्तीय विवरण भने सार्वजनिक हुन बाँकी छ।

ADVERTISEMENT

गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा चार बैंक घाटाबाट नाफामा फर्किएका छन्। केही बैंकले नाफा उल्लेख्य बढाउँदा केहीको नाफा भने घटेको छ। दुई बैंकको नोक्सानी थप बढेको छ।

ADVERTISEMENT

पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा लुम्बिनी विकास बैंकले कमाएको छ। बैंकले ३२ करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। तर, गत वर्षको सोही अवधिमा ३४ करोड ८५ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा यसपटक घटेको छ।

मुक्तिनाथ विकास बैंक ३२ करोड २४ लाख २४ हजार रुपैयाँ नाफासहित दोस्रो स्थानमा छ। गत वर्षको पहिलो त्रैमासमा २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको बैंकले यसपटक नाफा बढाएको हो।

त्यस्तै, गरिमा विकास बैंकले २४ करोड एक लाख २४ हजार र कामना सेवा विकास बैंकले २३ करोड ११ लाख ५५ हजार रुपैयाँ नाफा कमाएका छन्। गरिमाको नाफा गत वर्षको तुलनामा घट्दा कामना सेवाको बढेको छ।

ज्योति विकास बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा सात करोड तीन लाख रुपैयाँ नाफा कमाएको बैंकले यसपटक २० करोड एक लाख ६१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १९ करोड ७६ लाख ३५ हजार रुपैयाँ नाफा कमाउँदा महालक्ष्मी विकास बैंकले ११ करोड ८४ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ।

यसैगरी, मितेरी डेभलपमेन्ट बैंकले तीन करोड ४२ लाख ६८ हजार, सांग्रिला डेभलपमेन्ट बैंकले तीन करोड ३४ लाख ६१ हजार, ग्रीन डेभलपमेन्ट बैंकले ४९ लाख २८ हजार, सप्तकोशी डेभलपमेन्ट बैंकले ४३ लाख ६० हजार, एक्सेल डेभलपमेन्ट बैंकले ४० लाख पाँच हजार, कर्पोरेट डेभलपमेन्ट बैंकले ६१ लाख ४२ हजार र नारायणी डेभलपमेन्ट बैंकले २९ लाख ९६ हजार रुपैयाँ नाफा कमाएका छन्।

गत वर्ष घाटामा रहेका एक्सेल, सप्तकोशी, नारायणी र ग्रीन डेभलपमेन्ट बैंक यसपटक नाफामा फर्किएका हुन्।

तर, सिन्धु विकास बैंकको नोक्सानी बढेर छ करोड २१ लाख ३६ हजार रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकले चार करोड ४५ लाख ९७ हजार रुपैयाँ घाटा बेहोरेको थियो। सालपा विकास बैंकको नोक्सानी पनि बढेर एक करोड ७४ लाख २७ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो नोक्सानी ९९ लाख ८४ हजार रुपैयाँ थियो।

कर्णाली विकास बैंक समस्याग्रस्त अवस्थामा रहेकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन।

कुन विकास बैंकको नाफा कति ?

तलको तालिकामा चालु र गत आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा/नोक्सानी तुलना गरिएको छ। रकम करोड रुपैयाँमा छ।

बैंक चालु आव गत आव
लुम्बिनी विकास बैंक ३२.७२ ३४.८६
मुक्तिनाथ विकास बैंक ३२.२४ २२.४८
गरिमा विकास बैंक २४.०१ २५.०६
कामना सेवा विकास बैंक २३.१२ १९.७६
ज्योति विकास बैंक २०.०२ ७.०३
शाइन रेसुङ्गा विकास बैंक १९.७६ २०.३०
महालक्ष्मी विकास बैंक ११.८५ ९.७५
मितेरी डेभलपमेन्ट बैंक ३.४३ २.५२
सांग्रिला डेभलपमेन्ट बैंक ३.३५ ८.८२
कर्पोरेट डेभलपमेन्ट बैंक ०.६१ ०.२९
ग्रीन डेभलपमेन्ट बैंक ०.४९ -३.०२
सप्तकोशी डेभलपमेन्ट बैंक ०.४४ -०.१२
एक्सेल डेभलपमेन्ट बैंक ०.४० -८.९८
नारायणी डेभलपमेन्ट बैंक ०.३० -२.२१
सालपा विकास बैंक -१.७४ -१.००
सिन्धु विकास बैंक -६.२१ -४.४६
कर्णाली विकास बैंक विवरण सार्वजनिक हुन बाँकी —