काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले लगानीमैत्री वातावरण निर्माण, नीतिगत सुधार र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारसँग आग्रह गरेको छ।

महासंघका अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा मन्त्री सुनिल लम्सालसँग भेट गरी निजी क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गरेको हो।

ADVERTISEMENT

भेटमा अध्यक्ष श्रेष्ठले उद्योग–व्यवसाय सञ्चालनमा देखिएका नीतिगत तथा व्यावहारिक कठिनाइ हटाउन, पूर्वाधार विकासलाई गति दिन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न सरकारको ध्यानाकर्षण गराए।

ADVERTISEMENT

हालैका बाढीपहिरोका कारण प्रभावित उद्योग, व्यवसाय, आपूर्ति प्रणाली र पूर्वाधारको तत्काल पुनर्स्थापना गरी आर्थिक गतिविधिलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहजीकरण गर्नुपर्नेमा पनि उनले जोड दिए।

श्रेष्ठले सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य भए उत्पादन तथा उत्पादकत्व वृद्धि, निर्यात विस्तार र रोजगारी सिर्जनामा योगदान पुग्ने बताए। उनले उद्योगी–व्यवसायीले भोगिरहेका प्रशासनिक झन्झट र लगानी विस्तारका अवरोध हटाउन पनि सरकारसँग आग्रह गरे।

ADVERTISEMENT

जवाफमा पूर्वाधार विकासमन्त्री लम्सालले महासंघले उठाएका विषयप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आर्थिक विकास, समृद्धि र व्यवसायमैत्री वातावरण निर्माणका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको बताए।

निजी क्षेत्रले भोगिरहेका समस्या र आर्थिक गतिविधि बढाउन आवश्यक कानुनी सुधारका विषय स्पष्ट रूपमा सरकारसमक्ष राख्न आग्रह गर्दै मन्त्री लम्सालले रोजगारी सिर्जना र अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक सुधार गर्न सरकार तयार रहेको बताए। उनले स्थानीय उद्योगको प्रवर्द्धन र दिगो सञ्चालनका लागि पनि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

भेटवार्तामा महासंघले निजी क्षेत्रका समस्या तथा सुझाव सरकारसमक्ष निरन्तर प्रस्तुत गर्दै नीतिगत सुधार, लगानी प्रवर्द्धन र अर्थतन्त्रको पुनरुत्थानका लागि सहकार्य जारी राख्ने जनाएको छ।