काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। आइतबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गर्दै जिल्ला अधिवेशनसम्बन्धी कार्यविधि पनि स्वीकृत गरेको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।

बैठकले संगठन सुदृढीकरण र संरचनागत विस्तारलाई ध्यानमा राख्दै विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। केन्द्रीय संगठन विभागको विज्ञ समूह सदस्यमा तीन जना मनोनीत गरिएको छ। जसअनुसार रूपन्देहीका कमल खनाल, सुर्खेतका तोरण बिक र रौतहटका उदय सापकोटा चयन भएका छन्।

त्यस्तै, प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फका सांसदलाई जिम्मेवारी तोक्ने निर्णय पनि बैठकले गरेको छ। यसले स्थानीय संगठन सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बैठकले प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गरेको छ। साथै, आसन्न महाधिवेशनका लागि आवश्यक तयारी गर्न महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने निर्णय समेत गरिएको छ।

सचिवालय बैठकले आगामी केन्द्रीय समिति बैठकको एजेन्डा समेत तय गरेको छ। उक्त बैठकमा केन्द्रीय पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि र विधान संशोधनलगायतका विषयमा छलफल हुने रास्वपाले जनाएको छ।