काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारामा देखिएको विवादपछि पुनः अधिवेशन प्रक्रिया सुरु गरेको छ । शनिबार कलैयामा आयोजित विस्तारित बैठक व्यवस्थापन गर्न नसक्दा उत्पन्न विवादपछि पार्टीले अधिवेशन प्रक्रिया अघि बढाएको हो ।
शनिबार भएको विस्तारित बैठकमा दुई पक्षबीच चर्काचर्की, होहल्ला तथा भनाभनको स्थिति सिर्जना भएको थियो । विवादपछि बैठकस्थल तनावग्रस्त बनेको थियो ।
रास्वपाले केही दिनअघि जिल्ला संयोजक चन्दन स्वर्णकारलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । जिल्ला कार्यसमितिको अधिवेशन र विस्तारित बैठकअघि नै आफूलाई षड्यन्त्रपूर्वक पार्टीबाट हटाइएको भन्दै स्वर्णकार समूह असन्तुष्ट बनेको थियो ।
पार्टीले ‘सर्कुलर’ जारी गरेपछि बाराबाट निर्वाचित सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, चन्दन सिंह र अरविन्द साह शनिबार कलैया पुगेका थिए । तर, साघुँरो बैठककक्षभित्र दुई समूहबीच विवाद चर्किएपछि प्रहरीले चारै सांसदलाई सुरक्षित स्थानमा लगेको थियो ।
रास्वपाका सांसदहरुले वडा, पालिका र जिल्ला अधिवेशनको प्रक्रिया सुरु भइसकेको र ढिलो गरी बैठक सम्पन्न गरेर अधिवेशनलाई निरन्तरता दिइएको बताएका छन् ।
पार्टी नेताहरूले जिल्ला कार्यसमितिमा आकांक्षी र कार्यकर्ता धेरै भएकाले देखिएको विवादलाई सामान्य रूपमा लिनुपर्ने बताएका छन् ।
रास्वपाले आगामी असार ७, ८ र ९ गते केन्द्रीय महाधिवेशन आयोजना गर्दै नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेको छ । त्यसका लागि अहिले देशभर वडा, पालिका र जिल्ला अधिवेशन सञ्चालन भइरहेका छन् ।
पार्टीले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ । त्यसपछि जेठ २६ गते वाग्मती प्रदेशबाट प्रदेश अधिवेशन सुरु हुनेछ । जेठ २७ गते कोसी, २८ गते मधेस, २९ गते गण्डकी, ३० गते लुम्बिनी, ३१ गते कर्णाली र असार १ गते सुदूरपश्चिम प्रदेशमा अधिवेशन आयोजना गर्ने कार्यक्रम रहेको छ ।








