काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशनमा सांसद तथा केन्द्रीय तहका नेताहरू जिल्ला सभापतिमा निर्वाचित भएको रोचक दृश्य देखिएको छ।
ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित बुद्धरत्न महर्जन रास्वपाको ललितपुर जिल्ला सभापति चयन भएका छन्। आइतबार सम्पन्न मतदानमा उनले प्रतिस्पर्धी विदुर थापालाई ११ मतको अन्तरले पराजित गर्दै नेतृत्व हात पारेका हुन्।
निर्वाचन परिणामअनुसार महर्जनले १४१ मत प्राप्त गर्दा थापाले १३० मत पाएका थिए।
त्यसैगरी, रास्वपाको केन्द्रीय संगठन विभाग सदस्य ओमनाथ भण्डारी झापा जिल्ला सभापतिमा निर्वाचित भएका छन्। जेठ २३ र २४ गते सम्पन्न जिल्ला अधिवेशनमा उनले लक्ष्मण बस्नेत र अर्जुन मैनालीलाई पराजित गर्दै नेतृत्वमा पुगेका हुन्।
भण्डारीले ३४१ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी बस्नेतले २४७ र मैनालीले २५ मत पाएका थिए।
उता, बागमती प्रदेश समितिमा रहेका राजन अर्याल धादिङ जिल्ला समितिको सभापतिमा निर्वाचित भएका छन्।
रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीका अनुसार पार्टीका कार्यकारी पदमा केन्द्रीय तहका नेताहरूको चासो बढ्दै गएको देखिएको छ।








