काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभरका ४ हजार २४६ वडामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार हालसम्म ५१२ स्थानीय तहमा पालिका अधिवेशनसमेत सम्पन्न भइसकेको छ।
आयोगले थप चार नगरपालिका र चार वडामा समिति अद्यावधिक भएको जानकारी दिएको छ। आज र भोलि देशभर रास्वपाको जिल्ला अधिवेशन सञ्चालन हुँदैछ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष र व्यवस्थित बनाउन प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको छ।
यस्तै, आगामी जेठ २६ गतेदेखि रास्वपाको प्रदेश अधिवेशन सुरु हुने भएको छ। प्रदेश अधिवेशन सञ्चालनका लागि सातवटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरी काम सुरु भइसकेको आयोगले जनाएको छ।





