काठमाडौं । कांग्रेसबाट अलग्गिने निर्णय गर्ने नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई कारबाहीको मागसहित पार्टी कार्यालय सानेपामा ज्ञापनपत्र बुझाइएको छ ।
केन्द्रीय कार्यसमिति बैठक जारी रहेकै बेला नेविसंघका नेता कार्यकर्ताले आइतबार सानेपा पुगेर शेर्पालाई कारबाहीको माग गर्दै महामन्त्री गुरुराज घिमिरेलाई ज्ञापनपत्र बुझाइएकाे हाे ।
ज्ञापनपत्रमा नेविसंघ सिनेटको निर्णय नमान्ने चेतावनी दिइएको छ । नेविसंघ कांग्रेसको भ्रातृसंस्था हो । कांग्रेस २००३ सालमै स्थापना भएको हो । नेविसंघ भने २०२५ सालमा स्थापना भएको हो ।
कांग्रेसमा देखिएको किचलोलाई थप मलजल गर्न नेविसंघका अध्यक्ष शेर्पाले शुक्रबार सिनेटको बैठकको निर्णय भन्दै कांग्रेस पार्टीबाट अलग्गिने निर्णय गरेका थिए । जसलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ । शेर्पालाई शेरबहादुर देउवा कांग्रेस सभापति हुँदा नेविसंघको तदर्थ समिति अध्यक्षको जिम्मा दिइएको थियो ।
कांग्रेस महामन्त्री गुरुराज घिमिरेले शेर्पाको निर्णय पार्टी हितविपरीत भएको प्रतिक्रिया दिइसकेका छन् । उनले यस्तो निर्णयलाई अजराजकसमेत भनेका छन् । हाल सम्पन्न निर्वाचनमा सभापति गगन थापा र पार्टीलाई नै अन्तर्घात गरेर हराएपछि देउवा समूहले विवाद निकाल्न नेविसंघ प्रयोग गरेको धेरैको बुझाइ छ ।
विशेष महाधिवेशनलगत्तै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामसँगै कांग्रेसभित्रको आन्तरिक कलह पुनः सतहमा आएको छ ।
गगन–विश्वप्रकाश पक्षले निर्वाचन समीक्षाका लागि केन्द्रीय समिति बैठक जारी राखेकै बेला निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पुरानै केन्द्रीय समितिको छुट्टै बैठक बोलाउने तयारी गरेपछि विवादले नयाँ मोड लिएको हो ।
निर्वाचनमा कांग्रेसले व्यहोरेको सर्मनाक पराजयपछि देउवा पक्ष वर्तमान नेतृत्वसँग असन्तुष्ट देखिएको छ । थापाले सभापति पदबाट राजीनामा दिइसकेका छन् ।







