काठमाडौं । ‘अर्नब’ चक्रवातको प्रभाव पूर्ण रूपमा हटेको घोषणा भएको केही घण्टामै बंगालको खाडीमा अर्को चक्रवात विकास भएको छ । दक्षिणपश्चिम बंगालको खाडी तथा आसपासको मध्यपश्चिम बंगालको खाडीमा आइतबार बिहान चक्रवाती आँधी ‘मुरासु’ बनेको हो ।

नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कात्तिक १५ गते बिहान ११:४५ बजे विकास भएको यो प्रणाली सोमबारसम्म शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ ।

ADVERTISEMENT

मुरासु निरन्तर पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कात्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रस्थित नेल्लोर र नरसापुरबीचबाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ ।

ADVERTISEMENT

तर, यो चक्रवातका कारण तत्काल नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । महाशाखाले प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार सूचना अद्यावधिक गर्ने बताएको छ ।

यसअघि महाशाखाले आइतबार बिहान मात्रै अर्नब चक्रवातको प्रभाव नेपालबाट पूर्ण रूपमा हटेको जानकारी दिएको थियो । उक्त चक्रवातका कारण गत बिहीबारदेखि शनिबारसम्म नेपालका विभिन्न स्थानमा वर्षा र हिमपात भएको थियो ।

आगामी पाँच दिनको मौसम पूर्वानुमान

  • कात्तिक १५ गते, आइतबार: देशभर आंशिक बादल लाग्नेछ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ । तराई, उपत्यका र खोँचमा बिहान हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

  • कात्तिक १६ गते, सोमबार: हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ । लुम्बिनीको तराई क्षेत्रमा पनि छिटपुट वर्षाको सम्भावना छ ।

  • कात्तिक १७ गते, मंगलबार: कोसी प्रदेशका हिमाली र पहाडी भूभागमा हल्का वर्षा वा हिमपात हुन सक्छ । अन्य अधिकांश क्षेत्रमा आंशिक बादलदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ ।

  • कात्तिक १८ गते, बुधबार: कोसी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ । अन्य क्षेत्रमा आंशिक बादलदेखि मौसम सफा रहनेछ ।

  • कात्तिक १९ गते, बिहीबार: हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । तराई, उपत्यका तथा खोँचमा बिहान हुस्सु र कुहिरो लाग्न सक्छ ।

मौसम परिवर्तनशील हुने भएकाले महाशाखाले दैनिक रूपमा पूर्वानुमान अद्यावधिक गर्ने जनाएको छ ।