काठमाडौं । नेपाली कांग्रेसले १५४ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाइसकेको छ । अब काठमाडौंलगायत केही जिल्लामा उ्रम्मेदवार टुंगो लगाउन बाँकी छ ।

तर यसपटक कांग्रेसमा विगतमा लामो समयदेखि पार्टी र राज्यसत्तामा देखिरहने तीन दर्जन अनुहार साइड लागेका छन् । त्यसमध्ये केहीले जेनजी आन्दोलनपछि आफू उम्मेदवार नबन्ने बताएका थिए । केही भने कांग्रेसको विशेष महाधिवेशनपछि उम्मेदवार बन्नबाट वञ्चित भएका हुन् ।

कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवादेखि २०७९ मा कांग्रेसबाट निर्वाचित एक्ली महिला सांसद सीता गुरुङसम्मलाई टिकट दिएन । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापाले देउवा र शेखर कोइराला पक्षका केही चर्चित खेलाडीलाई उम्मेदवार बन्नबाट वञ्चित गरेका हुन् ।

पार्टीको आधिकारिता विवादलाई सर्वोच्च अदालतसम्म पु¥याएका निवर्तमान कार्यवाहक सभापति पूर्वबहादुर खड्कालाई चुनावी मैदानमा जान नैतिक संकटले रोक्दा धेरै नेताको स्थायी निर्वाचन क्षेत्रमा सभापति थापाले अर्कैलाई पालो दिएका छन् ।

तीनजना पूर्व उपसभापति धनराज गुरुङ, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार टिकट पाउनबाट वञ्चित भए । पूर्वमहामन्त्री शशांक कोइरालाले पनि यसपटक टिकट पाएनन् ।
निवर्तमान सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार र उमाकान्त चौधरी तथा कोषाध्यक्ष उमेश श्रेष्ठ पनि चुनावी मैदानमा देखिने छैनन्।

काठमाडौँ १ बाट लगातार निर्वाचित हुँदै आएका प्रकाशमान सिंहको पनि टिकट कन्फर्म छैन । उनलाई अर्को निर्वाचन क्षेत्र रोज्न भनिएको छ ।

सोलुखुम्बुका सदाबाहर उम्मेदवार बलबहादुर केसी, उदयपुर १ का डा. नारायण खड्का, सुनसरी १ बाट सिरफारिस मीन विश्वकर्मा, काठमाडौँ १० का राजेन्द्रकुमार केसी, धादिङ २ का रामनाथ अधिकारी र सुर्खेत २ का हृदयराम थानीले चुनाव नलड्ने घोषणा गरेका थिए।

२०५६, २०७०, २०७४ र २०७९ साल गरी चारपटक कञ्चनपुर ३ मा चुनाव लडेका रमेश लेखक पनि टिकट पाउनबाट वञ्चित भएका छन् । रुपन्देही ३ मा बालकृष्ण खाण, कैलाली ५ मा आरजु राणा, मोरङ २ मा सुजाता कोइराला र तेह्रथुममा सीता गुरुङले टिकट पाएनन्।

चर्चित नेताहरू जीपछिरिङ लामा, सिरहाका पद्मनारायण चौधरी, सिन्धुपाल्चोक १ का मोहनबहादुर बस्नेत, कैलाली १ का रामजनम चौधरी, ललितपुर ३ का मदनबहादुर अमात्य, ओखलढुंगामा रामहरि खतिवडा, संखुवासभामा दीपक खड्का, सिन्धुली २ मा श्याम घिमिरे, भक्तपुर २ मा दुर्लभ थापा, काठमाडौँ ६ मा भीमसेनदास प्रधान यसपटकको निर्वाचनमा देखिने छैनन् ।

कैलाली १ की ईश्वरी न्यौपाने, गोरखा १ बाट चुनाव लड्दै आएका चिनकाजी श्रेष्ठ र राजेन्द्र बजगाई चुनावी मैदान बाहिर छन्। उपसभापतिद्वय विश्वप्रकाश शर्मा, पुष्पा भुसाल र सहमहामन्त्री डा. डिला संग्रौलालाई चुनावी मैदानमा हुने छैनन्।