काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरिसकेको जनाएको छ।

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसे कांग्रेसले १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको जानकारी दिए ।

ADVERTISEMENT

उनले बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको जानकारी दिँदै अधिकांश स्थानमा उम्मेदवारी फिर्ता भइसकेको बताए। ‘जहाँ–जहाँ बागी उम्मेदवारी परेको थियो, पार्टीले औपचारिक निर्देशन दिएको छ, धेरैजसो ठाउँमा फिर्तासमेत भइसकेको छ,’ उनले भने ।

ADVERTISEMENT

चालिसेका अनुसार कांग्रेसले सातै प्रदेश, जिल्ला, स्थानीय तहदेखि वडास्तरसम्म सम्पूर्ण संगठनलाई निर्वाचन केन्द्रित हुन निर्देशन दिइसकेको छ। निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै चालिसेले पार्टीले आन्तरिक अनुशासन मजबुत बनाउन छुट्टै आन्तरिक आचारसंहितासमेत जारी गरेको बताए।

कांग्रेसले यसपटक प्रचारप्रसारमा डिजिटल क्याम्पेनिङलाई प्राथमिकता दिने रणनीति बनाएको पनि उनले जानकारी दिए। सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत मतदाता पहुँच विस्तार गर्ने योजना अनुसार प्रचार अभियान अघि बढाइने उनको भनाइ छ।

ADVERTISEMENT

प्रवक्ता चालिसेले हालै सम्पन्न विशेष महाधिवेशनले पार्टी पङ्क्तिमा नयाँ ऊर्जा र उत्प्रेरणा सिर्जना गरेको दाबी गरे।

पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा निर्वाचनका लागि प्रदेश, जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र हुँदै नगरपालिका÷गाउँपालिका र वडा तहसम्म प्रचार प्रसार तथा परिचालन समिति गठनको कार्य अन्तिम चरणमा पुगेको उल्लेख छ । यो कार्य अबको दुई दिनभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।

कांग्रेसले पार्टीमा पुराना साथीहरू पुनः जोडिने क्रम बढेको छ र नयाँ प्रवेशको लहर चलेको दाबी गरेको छ । कांग्रेसले फागुन ७ गते जनकपुरधाममा विशेष सभाको आयोजना गरेको छ । केन्द्रीयस्तरको आमसभा अन्य क्षेत्रमा क्रमशः आयोजना गरिने उसले जनाएको छ ।