काठमाडौं । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएपछि नेता शेखर कोइरालाले आफूपक्षीय नेता कार्यकर्ताको भेला बोलाएका छन् । उनले शनिबार काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापति लगायत महत्वपूर्ण साथीहरूसँग अन्तरक्रिया गरी राय लिएका छन्।

विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यलयमा भएको छलफलमा अहिलेको विषम परिस्थितिको समुचित निकास के हुन सक्छ ? राष्ट्रमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्द्वलाई सुरक्षित अवतरण कसरी हुन सक्छ भन्नेलगायतका विषयमा पनि छलफल भएको नेताहरूले बताएका छन् ।

ADVERTISEMENT

शुक्रबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशनका सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ ? आगामी आमनिर्वाचनमा एकताबद्ध रूपमा कसरी अगाडि बढ्न सकिन्छ ? भन्ने विषयहरूमा पार्टीभित्र देखिएको दुवै पक्षलाई एक सूत्रमा ल्याउने उपायहरूका बारेमा समेत भेलामा विस्तृत छलफल भएको छ।

हालै पार्टीको अनुशासन समितिले गरेका कारबाहीको फुकुवाका सम्बन्धमा जो जो व्यक्तिहरू जुन जुन पदमा थिए उनीहरू तत् तत् पदमा कायम रहनुपर्नेमा समेत सहभागीहरूले माग उठाए। आगामी आमनिर्वाचनमा एक भएर अघि बढ्नु समयको माग एवं आवश्यकता हो भन्नेमा उपस्थित सबै नेताहरूको एकमत थियो।

ADVERTISEMENT

कोइराला सचिवालयका अनुसार भेलामा राष्ट्रमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्द्वलाई कसरी सुरक्षित अवतरण गराउने भन्ने विषय, पार्टीभित्र देखिएको विवाद समाधान गरी दुवै पक्षलाई एक सूत्रमा ल्याउने सम्भावित उपाय र विकल्पबारे छलफल गरिएको थियो।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेपछि पनि महामन्त्रीद्वयले विशेष महाधिवेशनको अडान नछाडेको अवस्थामा कोइरालाले मध्यमार्गी निकास खोज्ने प्रयासस्वरूप आफ्ना निकट नेताहरूसँग छलफल गरेका हुन्।