काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका ३८८ महिला उम्मेदवारमध्ये केवल १४ जना मात्रै निर्वाचित भएका छन् । निर्वाचित हुने महिलामध्ये १३ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट र एक जना नेपाली कांग्रेस बाट विजयी भएका हुन् ।
निर्वाचन आयोग का अनुसार यसपटकको प्रतिनिधिसभा निर्वाचनमा विभिन्न राजनीतिक दलबाट ठूलो संख्यामा महिला उम्मेदवार मैदानमा उत्रिए पनि जित निकाल्ने संख्या निकै सीमित देखिएको छ । रास्वपाले १६ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार खडा गरेको थियो भने कांग्रेसले ११ जनालाई उम्मेदवार बनाएको थियो । त्यस्तै नेकपा एमाले ले १० र नेपाल कम्युनिष्ट पार्टी ले ११ जना महिला उम्मेदवार उठाएको थियो ।
कांग्रेसबाट उम्मेदवार बनेका ११ महिला नेतृमध्ये बासना थापा मात्र विजयी भएकी छन् । उनले दैलेख–१ बाट १२ हजार ३७२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रविन्द्रराज शर्मा ले ११ हजार ७६९ मत पाए भने रास्वपाका नन्दकिशोर बस्नेत आठ हजार १५१ मतसहित तेस्रो स्थानमा रहे ।
रास्वपाबाट भने उल्लेख्य संख्यामा महिला उम्मेदवार विजयी भएका छन् । निवर्तमान उपसभामुख इन्दिरा राना मगर झापा–२ बाट ६० हजार ११० मतसहित विजयी भएकी छन् । त्यस्तै चितवन–३ बाट सोबिता गौतम ५९ हजार २७७ मत ल्याएर निर्वाचित भएकी छन् ।
झापा–१ बाट निशा डाँगी ४५ हजार ६८० मतसहित विजयी हुँदा सर्लाही–१ बाट नीतिमा भण्डारी कार्की ४४ हजार १८१ मतसहित निर्वाचित भएकी छन् । ललितपुर–३ बाट तोसिमा कार्की ४३ हजार ९६ मत ल्याएर विजयी भएकी छन् भने धादिङ–१ बाट आशिका तामाङ ३९ हजार १२८ मतसहित निर्वाचित भएकी छन् ।
त्यसैगरी सप्तरी–१ बाट पुष्पाकुमारी चौधरी ३८ हजार १९५ मत ल्याएर विजयी भएकी छन् भने कास्की–३ बाट बिना गुरुङ ३७ हजार ७५० मतसहित निर्वाचित भएकी छन् ।
रास्वपाकी नेतृ आशा झा मोरङ–५ बाट ३० हजार ४३४ मतसहित विजयी भएकी छन् भने महोत्तरी–४ बाट गौरी कुमारी ३० हजार १३२ मतसहित निर्वाचित भएकी छन् ।
त्यस्तै कैलाली–१ बाट कोमल ज्ञवाली १७ हजार ८२६ मतसहित विजयी भएकी छन् भने काठमाडौं–१ बाट रञ्जु न्यौपाने १५ हजार ४५५ मत ल्याएर प्रतिनिधिसभा सदस्य बनेकी छन् ।
मोरङ–६ बाट रुबिना आचार्य ५५ हजार ५१३ मतसहित निर्वाचित भएकी छन् ।
यसपटकको निर्वाचनमा ठूलो संख्यामा महिला उम्मेदवार प्रतिस्पर्धामा उत्रिए पनि प्रत्यक्षतर्फ विजयी हुने संख्या भने निकै कम देखिएको छ । राजनीतिमा महिलाको सहभागिता बढे पनि प्रत्यक्ष निर्वाचनमा सफलता हासिल गर्न अझै चुनौती रहेको विश्लेषण गरिएको छ ।






