काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका तत्कालीन प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित आठ सांसदले दायर गरेको रिटमा सर्वोच्च अदालतले बुधबार यस्तो आदेश जारी गरेको हो ।

ADVERTISEMENT

गत मंसिर २३ गते दायर भएको रिट बुधबार संवैधानिक इजलासको आठौँ नम्बरमा परेको थियो। कांग्रेसका रिट पेसकर्ता तथा पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खातीका अनुसार रिटमा कारण देखाऊ आदेश जारी भएको छ। विपक्षी बनाइएका सबै पक्षबाट जवाफ आएपछि रिटलाई लगाउमा राखी यसअघि परेका अन्य रिटहरूसँगै सुनुवाइ हुन सक्ने उनले बताए।

कांग्रेसको रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ।
रिटमा संविधानले प्रतिबन्धित गरेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरी असंवैधानिक व्यक्तिको सिफारिसमा संविधानविपरीत प्रतिनिधिसभा विघटन गरिएको दाबी गरिएको छ। रिटमा संसद् तत्काल पुनर्स्थापनाको माग गरिएको छ।

ADVERTISEMENT