काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले ‘एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन्। आइतबार फेसबुकमा कुनै प्रसंग उल्लेख नगरी उनले यस्तो स्टाटस लेखेका हुन्।

प्रधानमन्त्री शाहले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’

ADVERTISEMENT

प्रधानमन्त्रीको उक्त स्टाटसमा उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले पनि टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्रीलाई व्यङ्ग्यात्मक शैलीमा प्रश्न गर्दै लेखेका छन्, ‘सही समय भनेको कहिले हो शनिबार आइतबार हो?’

ADVERTISEMENT

बेनको यो टिप्पणीमा हजारौँ प्रतिक्रिया आएका छन्। प्रधानमन्त्रीको स्टाटसमा पनि ठूलो संख्यामा प्रतिक्रिया र सेयर देखिएको छ। दुवैको संवाद सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

प्रधानमन्त्रीको यो अभिव्यक्ति सार्वजनिक भइरहेका बेला न्यायाधीश र बिचौलियाबीचको भनिएको सम्पर्क तथा कारोबारको विवरण र सञ्चारगृहमा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गरिएको घटनालाई लिएर सरकारको आलोचना भइरहेको छ। तर, प्रधानमन्त्रीले आफ्नो स्टाटस कुन विषय वा व्यक्तिलाई लक्षित गरेर लेखेका हुन् भन्ने खुलाएका छैनन्।

यसअघि पत्रकार पक्राउ प्रकरणमा पनि प्रधानमन्त्री शाह र सल्लाहकार बेन सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणीका कारण चर्चामा आएका थिए। ‘नयाँ पत्रिका’ दैनिकले प्रधानमन्त्रीको सचिवालयबाट २८ जना पत्रकारको सूची तयार पारेर पक्राउ गर्न निर्देशन दिइएको दाबीसहित समाचार प्रकाशित गरेपछि बेनले फेसबुकमा केही पत्रकारलाई मेन्सन गर्दै लेखेका थिए, ‘यो २८ जना पत्रकारमा को–को पर्‍या हो? २८ मा नपर्ने नि के पत्रकार भन्नु हैन साथी हो।’

त्यसैमा प्रधानमन्त्री शाहले ‘कुपण्डोल जाने मात्र पत्रकार, अरू कलाकार’ भन्दै टिप्पणी गरेका थिए।

पत्रकार पक्राउ प्रकरणमा सरकारको भूमिकाबारे स्पष्ट जवाफ माग भइरहेका बेला प्रधानमन्त्रीको पछिल्लो चेतावनी र सल्लाहकारको कटाक्षले राजनीतिक तथा सञ्चार वृत्तमा थप चासो सिर्जना गरेको छ।