काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ। आइतबार तोलामा ५६ सय रुपैयाँ बढेको सुनको मूल्य आज ३२ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तीन लाख १३ हजार पाँच सय रुपैयाँ पुगेको छ। आइतबार सुन तोलाको तीन लाख १० हजार तीन सय रुपैयाँ थियो।
गएको सोमबारदेखि बुधबारसम्म लगातार घट्दै आएको सुनको भाउ फेरि उच्च दरमा बढ्न थालेको हो। गत माघ १५ गते एकैदिन तोलामा २० हजार पाँच सय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य तोलामा १७० रुपैयाँ बढेको छ। मूल्य बढेर चाँदी आज तोलाको पाँच हजार पाँच सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। गत माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो।







