काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेको बताएकाछन् । राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा बुधबार शुभकामना व्यक्त गर्दै सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गरे ।

‘कांग्रेसले उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ’, उनले भने, ‘यो आत्मविश्वास हाम्रो एकता र समन्वयबाट आउँछ । एकता निषेधबाट वा फरक विचारलाई बेवास्ता गरेर नभई भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट उद्भव हुन्छ ।’

थापाले आजको समयमा कांग्रेसको विशेष अधिवेशनबाट उक्त मञ्च तयार हुने बताएका छन्। पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारी मात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको उनको जिकिर छ ।

राष्ट्रप्रतिको दायित्व निर्वाह गर्नसक्ने कांग्रेस बनाउनु आजको लागि प्रत्येक कार्यकर्ताको युगिन जिम्मेवारी भएको महामन्त्री थापाको भनाइ छ । आजभन्दा ४९ वर्ष अगाडि विषम् परिस्थितिमा ‘राष्ट्रिय एकता र मेलमिलाप’ को आह्वान गरेर विपी कोइराला, गणेशमान सिंहलगायत नेताहरू नेपाल फर्किएको उनले स्मरण गरेका छन् ।

महामन्त्री थापाले आमजनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस् भन्दै एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधका साथ अगाडि बढ्ने प्रेरणा सबैलाई मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

‘राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी हो। अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ,’ उनले भनेका छन् ।

कांग्रेसमा चुनावअघि महाधिवेशन गर्नै हुन्न भन्नेमा सभापति शेरबहादुर देउवा र उनी पक्षका नेता छन् । तर विशेष महाधिवेशनकाे माग गर्दै ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर बुझाइसकेकाले त्यसकाे छिनाेफानाे नगरी धरै छैन । त्यही भएर गगन-विश्वप्रकाश शर्मा विशेष महाधिवेशन आह्वान गर्ने पक्षमा उभिएका हुन् ।