काठमाडौं । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले नेपालमा खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

भोटेकोशी नदीमा आएको असाधारण बाढीका कारण सिर्जित कठिन परिस्थितिलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको निर्णयअनुसार भदौ ३१ गतेदेखि साविककै मूल्य कायम गरिएको हो।

ADVERTISEMENT

भदौ ३० गते आइओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ६८ पैसा बढेर आएको थियो। मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको निगमले जनाएको छ।

ADVERTISEMENT

नयाँ मूल्यअनुसार पनि पहिलो वर्गका क्षेत्रमा पेट्रोल, डिजेल तथा मट्टितेल प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम रहनेछ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन्।

ADVERTISEMENT

यसैगरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर १ हजार ६९७ अमेरिकी डलर कायम गरिएको छ। १४.२ किलोको एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ यथावत् छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भइरहे पनि खुद्रा मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने देखिएको छ।