काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले प्रतिबन्धित अवामी लिगका सात वरिष्ठ नेतालाई २०२४ को विद्यार्थी आन्दोलनका क्रममा भएको मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाएको छ।
तीन सदस्यीय न्यायाधीकरण (आईसीटी–२) ले मंगलबार सुनाएको फैसलामा उनीहरूले आन्दोलनका क्रममा हिंसा भड्काउन, निर्देशन दिन वा त्यसलाई प्रवर्द्धन गर्न भूमिका खेलेको ठहर गरेको हो।
न्यायाधीकरणको अध्यक्षता न्यायाधीश मोहम्मद नजरुल इस्लाम चौधरीले गरेका थिए। मृत्युदण्ड सुनाइएकामा अवामी लिगका महासचिव तथा पूर्वसडक यातायात मन्त्री ओबैदुल कदेर, सहमहासचिव एएफएम बहाउद्दिन नसिम र पूर्वसूचना तथा प्रसारण राज्यमन्त्री मोहम्मद अली अराफत छन्।
त्यस्तै, युवा लिगका अध्यक्ष शेख फजले सम्स पारस, महासचिव मैनुल हुसेन खान निखिल, बंगलादेश छात्र लिगका अध्यक्ष सद्दाम हुसेन र महासचिव शेख वली आसिफ अनानलाई पनि मृत्युदण्ड सुनाइएको छ।
सबै सात जनामाथि उनीहरूको अनुपस्थितिमा मुद्दा चलाइएको थियो। अदालतले उनीहरूको तर्फबाट सरकारी वकिलसमेत नियुक्त गरेको थियो।
यो फैसला २०२४ को विद्यार्थी आन्दोलनसँग सम्बन्धित मुद्दामा आएको हो। आन्दोलनमाथि तत्कालीन सरकारले गरेको दमनमा करिब १ हजार ४ सय जनाको मृत्यु भएको बताइएको छ। यही घटनासँग सम्बन्धित अर्को मुद्दामा पूर्वप्रधानमन्त्री शेख हसिनालाई पनि उनको अनुपस्थितिमा मृत्युदण्ड सुनाइसकिएको छ।
विद्यार्थी आन्दोलन चर्किएपछि हसिना २०२४ अगस्ट ५ मा हेलिकप्टरमार्फत भारत पुगेकी थिइन्। बंगलादेशले उनलाई फिर्ता पठाउन भारतसँग पटक–पटक आग्रह गर्दै आएको भए पनि उनी हालसम्म भारतमै रहेकी छन्।
हसिनाको बहिर्गमनपछि बंगलादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाइएको थियो। त्यसपछि भएको संसदीय निर्वाचनमा अवामी लिग सहभागी हुन पाएन। निर्वाचनमा पूर्वप्रधानमन्त्री खालिदा जियाको पार्टी बीएनपीले दुईतिहाइभन्दा बढी सिट जितेपछि उनका छोरा तारिक रहमान प्रधानमन्त्री बनेका छन्।






