काठमाडौं । रसुवाको चिलिमे हाइड्रोपावरको सुरुङभित्र नेपाली सेना, सशस्त्र प्रहरी बल र भारतीय विशेषज्ञसहितको टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ। भोटेकोशी बाढी आएको २०औँ दिनमा उद्धार टोली सुरुङको करिब १३० मिटर भित्र पुगेको छ।

संयुक्त उद्धार टोलीले एक्स्काभेटर र लोडर प्रयोग गरी सुरुङको मुखबाट करिब १०० मिटरभित्रसम्मको डेब्रिज हटाएको छ। सुरुङभित्र ठूलो ढुंगा र लेदो धेरै मात्रामा पसेका कारण डेब्रिज हटाउन समय लागेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताएका छन्।

ADVERTISEMENT

सुरुङभित्रबाट पानी आइरहेकाले पम्प प्रयोग गरेर पानी हटाउँदै उद्धारकर्मीहरू भित्र प्रवेश गरी खोजी गरिरहेका छन्। पानी आइरहेको होलबाट उद्धार टोली करिब १३० मिटरभित्र पुगेको बताइएको छ।

ADVERTISEMENT

चिलिमे सुरुङमा ८ जना मानिस फसेको आकलन गरिएको छ।

त्यस्तै, माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको अडिट–३ मा नेपाली सेना र आयोजनाका प्राविधिकसहितको उद्धार टोली करिब ६०० मिटरभित्र पुगेर खोजी गरिरहेको छ।

ADVERTISEMENT

हाल रसुवा र नुवाकोटका ६ वटा सुरुङमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।