काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको ढुंगा कारमाथि बजारिँदा दुई जना गम्भीर घाइते भएका छन्।
मंगलबार साँझ करिब साढे ६ बजे तिनाउ गाउँपालिका–३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै सडक माथिबाट अचानक ढुंगा खसेर पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च ३९९९ नम्बरको कारमा लागेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईका अनुसार दुर्घटनामा कारमा सवार बुटवल उपमहानगरपालिका–७ दिपनगरकी ३७ वर्षीया जुलन गैरे र जेसीज चोक बस्ने ६२ वर्षीया राधिका ढकाल गम्भीर घाइते भएका छन्। दुवैको बुटवल अस्पताल प्रालिमा उपचार भइरहेको छ।
कार चालक रुपन्देहीको शुद्धोधन गाउँपालिका–२ कोलुवाका ३६ वर्षीय राजकुमार लोध पनि सामान्य घाइते भएका छन्। अचानक खसेको ढुंगा कारमा ठोक्किँदा कारमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।










