काठमाडौं । सत्तारुढ कांग्रेसले कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने निर्णय गरेको हो ।

बैठकले सामाजिक सञ्जाल बन्दका विषयमा सरकारसँग छलफल गरी विकल्प खोज्नेसमेत निर्णय गरेको छ । नेपालमा दर्ता नभएका फेसबुक लगायत सामाजिक सञ्जाल बन्द गरेसँगै सरकारको चौतर्फी विरोध भइरहेका बेला कांग्रेसले उक्त निर्णय गरेको हो ।

कांग्रेस नेता बलबहादुर केसीले सरकारको पोजिसन बुझेर सर्वोच्च अदालतको परमादेशअनुसार कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्दको निर्णयमा कडाइ नगर्ने निर्णय भएको जानकारी दिए ।

सरकारले अदालतको आदेश भन्दै नेपालमा सञ्चालनमा रहेका २५ वटा सामाजिक सञ्जालका प्लेटफर्म निष्क्रिय बनाएको छ । जसलाई लिएर सत्तारुढ कांग्रेसभित्रै विवाद देखिएको छ । कांग्रेस सभापति देउवाले शनिबार मात्र सामाजिक सञ्जाल बन्द नभई सूचीकरण गर्न मात्र भनेको बताएका थिए ।

कांग्रेस नेता डा.शेखर कोइरालाले सरकारको कदमको कडा शब्दमा विरोध गरेका छन् । सरकारको यो निर्णयलाई उनले स्वेच्छाचारी र निरंकुश भनेका छन् । कांग्रेस महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्द भन्दा पनि कानुन बनाउनुपर्नेमा त्यसो नगरिएको भन्दै सरकारले आफ्नो निर्णय अविलम्ब सच्याउन भनेका छन् ।