काठमाडौं । कांग्रेसले सबै कारबाही फुकुवा गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका र अनुशासनको कारबाहीमा परेका नेता तथा कार्यकर्ताहरूको कारबाही माफी मिनाहा गर्ने निर्णय गरेको हो ।

बैठकले संगठन सुदृढीकरणका लागि भन्दै यस्तो लचिलो नीति अख्तियार गरेको हो । विगतका निर्वाचनमा पार्टी वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, उनीहरूको प्रस्तावक वा समर्थक बनेका तथा असहयोग गरी अनुशासन उल्लंघन गरेका कारण कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी मिनाहा गर्ने निर्णय गरेको छ ।

केन्द्रीय अनुशासन समितिबाट निष्कासन वा निलम्बनमा परेका र विधानअनुसार स्वतः कारबाही भोगिरहेकाहरूको पनि कारबाही फुकुवा भएको छ । यस्ता व्यक्तिहरूको क्रियाशील सदस्यतालाई निरन्तरता दिँदै नवीकरण गर्ने निर्णय समेत पार्टीले गरेको छ ।
कांग्रेसले विभिन्न कारणले पार्टी परित्याग गरी स्वतन्त्र बसेका वा अन्य दलमा प्रवेश गरेका पूर्वकार्यकर्ताहरूलाई पुनः घर फर्किन आह्वान गरेको छ । अन्य दलमा गएर उम्मेदवार वा प्रचारक बनेका साथीहरू फर्किएमा उनीहरूलाई क्रियाशील सदस्यतासहित उपयुक्त जिम्मेवारी दिने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले पार्टीको दायरा फराकिलो बनाउन बौद्धिक र व्यावसायिक क्षेत्रलाई पनि कांग्रेसमा सक्रिय हुन आग्रह गरेको छ । लोकतान्त्रिक विचार र आस्था राख्ने विभिन्न पेशाकर्मी तथा विज्ञहरूसँग विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने नीति कांग्रेसले लिएको छ ।

कांग्रेसले विभिन्न पेसा, व्यवसाय र विविध क्षेत्रमा रही राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिहरुलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ । आजको परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि वौद्धिक र व्यवसायिक क्षेत्र विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णय पनि कांग्रेसले गरेको छ ।