काठमाडौं । संसदीय समिति सभापतिको निर्वाचन नजिकिँदै जाँदा प्रमुख विपक्षी दलहरूबीच उम्मेदवारीका विषयमा तीव्र छलफल भइरहेको छ। शुक्रबार हुने निर्वाचनका लागि बिहीबार मनोनयन दर्ता अघि नै दलहरू साझा रणनीति बनाउन जुटेका हुन्।

सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूबीच बैठक जारी रहेको एक सांसदले जानकारी दिए। उनका अनुसार एमाले उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा आन्तरिक छलफलमै रहेको छ।

ADVERTISEMENT

“अहिले सिंहदरबारमा कांग्रेस, एमाले र नेकपाका नेताहरूबीच कुराकानी गर्दै छौँ,” ती सांसदले भने, “एमाले उम्मेदवारी नदिने कि भन्नेमा छ। छलफलपछि एउटा निष्कर्षमा पुग्छौँ।”

संसदीय समिति सभापतिको निर्वाचन शुक्रबार (वैशाख ४) तय गरिएको छ भने मनोनयन दर्ताका लागि आज (वैशाख ३) दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय तोकिएको छ। यही समयसीमाभित्र उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गर्नुपर्नेछ।

ADVERTISEMENT

यसैबीच, पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आज मध्याह्न संसदीय दलको बैठक बोलाएको छ। रास्वपाले समेत सभापतिमा उम्मेदवारी दिने वा अन्य दलसँग सहकार्य गर्ने विषयमा निर्णय लिन सक्ने बताइएको छ।