काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या ५१ प्रतिशत पुगेको इतर पक्षका नेताहरूले बताएका छन् । उनीहरूको हस्ताक्षरसहित कारण खुलाएर विशेष महाधिवेशन माग गर्दै मंगलबार कांग्रेस कार्यालयमा दर्ता गराउने तयारी छ ।
एक नेताका अनुसार सकेसम्म आज र ढिलोमा मंगलबार बिहानसम्म महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाउने भएका छन्। भोलि दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। बैठकअघि नै विशेष महाधिवेशन माग गर्ने प्रयोजनका लागि ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाउन लागिएको हो। यसअघि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले असोज २४ गतेसम्म हस्ताक्षर बुझाउन आह्वान गरेका थिए ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र शर्माले नियमित वा विशेष महाधिवेशन प्रस्ताव राख्दै आएका छन्। मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने उनीहरूको भनाइ छ । सभापति शेरबहादुर देउवा पक्षले मंसिरमा नियमित वा विशेष महाधिवेशनमा जान नसकिने अडान राखेको छ । जसकारण सोमबार बस्ने तय भएको कार्यसम्पादन समितिको बैठक मंगलबारका लागि सरेको छ ।
सभापति देउवा पक्ष मंसिरभित्रै नियमित महाधिवेशनमा जान नखोजेकाले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर बुझाउन लागिएको नेताहरूले बताएका छन्। सभापति देउवा पक्ष भने चुनावपछि वैशाखमा मात्रै महाधिवेशन गर्न सकिने पक्षमा छ। स्रोतका अनुसार धेरै दबाब परेमा पुसमा महाधिवेशन गर्ने गरी मिति तोक्ने मनस्थितिमा देउवा छन् । सोहीअनुसारको सर्कुलर उनले आफ्ना नेतालाई गरिसकेका छन् ।
महामन्त्री थापाले अब बस्ने केन्द्रीय समिति बैठकमा वर्तमान कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव नल्याउने घोषणा गरिसकेकाले संस्थापन पक्ष दबाबमा परेको छ । २०७८ मंसिरमा १४औं महाधिवेशन भएकोले नियमित चार वर्षे कार्यकाल मंसिरमा सकिँदैछ। त्यसैले मंसिरभित्रै नियमित महाधिवेशनका पक्षमा महामन्त्रीद्वय थापा र शर्मा तथा नेता शेखर कोइराला छन्।
सभापति देउवा पक्ष मंसिरमा नियमित महाधिवेशन पनि गर्न नचाहेपछि विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या बढ्दै गएको नेताहरूले दाबी गरेका छन्। विशेष महाधिवेशन माग गर्ने पक्षमा हस्ताक्षर बढ्दै गएपछि सभापति देउवा, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, प्रवक्ता प्रकाशशरण महतले फोन गर्दै हस्ताक्षर फिर्ता लिन दबाब दिइरहेको कांग्रेस नेताहरुले बताएका छन् ।
महामन्त्रीद्वय थापा र शर्माको सक्रियतामा जिल्लाजिल्लामा महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेको भन्दै संस्थापन पक्ष असन्तुष्ट छ। विशेष महाधिवेशनले पार्टी कमजोर बनाउने र विभाजन निम्तने दाबी संस्थापन पक्षको छ । कांग्रेस नेता सिटौलाले त सार्वजनिक रूपमै हस्ताक्षर अभियानले पार्टी फुट्ने चेतावनी दिइसकेका छन् । तर महामन्त्रीद्वय थापा र शर्मा यसमा टसमस भएका छैनन् ।
एमाले र माओवादीले मंसिरमा महाधिवेशन गर्ने भएका छन् । तर अहिलेसम्म मिति भने तोक्न सकेका छैनन् । एमाले र माओवादी महाधिवेशनमा जाने निर्णयमा पुगिसक्दा पनि कांग्रेसका नेताहरू भने नेतृत्व युवा पुस्तामा पुग्ने डरले भयभित बनेका छन् ।






