काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई असोज १६ गते हुने पार्टीको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आग्रह गरेका छन्।
बिहीबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले पूर्वसभापति देउवाले महाधिवेशन उद्घाटन गरिदिँदा आफूहरूका लागि सम्मानको विषय हुने बताएका हुन्।
‘अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ,’ थापाले भने।
थापाले पार्टी विधानअनुसार देउवा अब सभापति बन्ने अवस्था नरहेको समेत बताएका छन्। उनले असोज १६ गते खुलामञ्चमा महाधिवेशन प्रारम्भ हुने र त्यसअघि असोज ३ र ४ गते वडा अधिवेशन हुने जानकारी दिए।
उनले पार्टी एकताका लागि आफूहरू उभिनुपर्ने बताउँदै महाधिवेशन प्रक्रियामा सबै पक्षलाई सहभागी गराउने विषयमा थप छलफलको वातावरण बन्ने अपेक्षा व्यक्त गरेका छन्।






