काठमाडौं । जीवन सुनुवारले निर्देशन गरेको ‘भकुण्डे भूत’ले काठमाडौँ फिल्म फेस्टिभलअन्तर्गत आयोजित सर्ट भिडियो च्यालेन्जको पहिलो पुरस्कार जितेको छ।
काठमाडौँ महानगरपालिकाले ‘माइ कल्चर, माइ हेरिटेज’ शीर्षकमा आह्वान गरेको च्यालेन्जमा परम्परागत विश्वास र रहस्यमा आधारित ४ मिनेट ५५ सेकेन्डको भिडियो उत्कृष्ट घोषित भएको हो। प्रतियोगिताका लागि ३५ वटा भिडियो प्राप्त भएका थिए।
प्रतियोगितामा अनुभव श्रेष्ठले निर्देशन गरेको ‘द सोल अफ गुठी’ दोस्रो र सौगात सापकोटाले निर्देशन गरेको ‘झिँगु छेँ (मेरो घर)’ तेस्रो भए। पहिलो, दोस्रो र तेस्रो हुने भिडियोका निर्माता तथा निर्देशकलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
राष्ट्रिय सभागृहमा आयोजित अवार्ड समारोहमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, अभिनेता विजय बराल र अभिनेत्री सुरक्षा पन्तले विजेतालाई पुरस्कार, प्रमाणपत्र तथा अवार्ड प्रदान गरे।
सर्ट भिडियो च्यालेन्जका लागि प्राप्त भिडियोमध्ये निर्णायक मण्डलले ११ वटा भिडियो प्रदर्शनका लागि छनोट गरेको थियो। छनोटमा परेका अन्य भिडियोमा शैलेश हमालको ‘ह्यापिनेस’, धृतिका तिवारीको ‘बगैँचा जस्तै सहर’, करण ब्लनको ‘दियो’, दिनेश महर्जनको ‘इन्द्रजात्रा : द बिगेस्ट फेस्टिभल अफ काठमाडौँ’, नर्जुङ बुढाथोकीको ‘बिहाइण्ड द गड’, केशव सार्कीको ‘अन्तिम यात्रा’, क्रिमिन तुलाधरको ‘सचिका : अ थ्रेड द्याट टाइज यु होम’ र सजिल बस्नेतको ‘छं ल्वाः मंसां’ रहेका छन्।
समारोहमा नेपाल पानोरामाअन्तर्गत छनोट भएका नौ वटा लघु चलचित्रलाई पनि जनही १ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो।
कार्यवाहक प्रमुख डंगोलले युवा पुस्तालाई काठमाडौँको संस्कार, संस्कृति, सामाजिक तथा ऐतिहासिक पहिचानसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन्। युवाहरूको सहभागिताले महानगरको उद्देश्यलाई सफल बनाउन सहयोग पुगेको उनको भनाइ थियो।









