काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका छन् ।
कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै थापाले सरकारका पछिल्ला निर्णय र घटनाक्रमले लोकतान्त्रिक मूल्य, कानुनी शासन र राज्यको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको बताएका हुन् ।उनले सरकारलाई जवाफदेही बनाउनु र लोकतान्त्रिक व्यवस्थाका आधारभूत मान्यताको संरक्षण गर्नु प्रतिपक्षको दायित्व भएको उल्लेख गर्दै कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।
१. पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन, परिणाम चाहिन्छ
थापाले सञ्चारमाध्यममा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गरिएको घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताए । उनले उक्त घटनाले शाही शासनकालमा सञ्चारमाध्यममाथि भएको हस्तक्षेपको स्मरण गराएको टिप्पणी गरे ।
प्रहरीका फरक–फरक वक्तव्य र प्रधानमन्त्रीको सचिवालयबाट आएका धारणाले घटनाबारे थप अन्योल सिर्जना गरेको उनको भनाइ थियो ।पत्रकार पक्राउ गर्न कसले आदेश दिएको थियो, कुन कानुनका आधारमा पक्राउ गरिएको थियो र त्यसमा को जिम्मेवार छ भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने उनले माग गरे ।‘हामीलाई वक्तव्य होइन, परिणाम चाहिएको छ,’ थापाले भने, ‘किन भयो, कसले गर्यो, कानुनको कसरी प्रयोग भयो र दोषी को हो भन्ने कुराको जवाफसहित परिणाम चाहिन्छ ।’
२. सरकारमा बसेका व्यक्तिको इच्छा नै कानुन हुन सक्दैन
थापाले राज्य सञ्चालनमा व्यक्तिगत इच्छा र आदेशलाई कानुनभन्दा माथि राख्ने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक हुने बताए ।सरकारी निकाय कुनै व्यक्ति वा पदाधिकारीका निजी आदेश पालना गर्ने संस्था नभएको उल्लेख गर्दै उनले राज्यका सबै निकाय संविधान र कानुनअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए ।उनले सरकारको अधिकार कानुनबाट निर्देशित हुनुपर्ने र शक्तिको स्वेच्छाचारी प्रयोग स्वीकार्य नहुने स्पष्ट पारे ।
३. राम्रा कामको जस लिने, गलत कामको जिम्मेवारीबाट पन्छिन मिल्दैन
कांग्रेस सभापति थापाले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिकामाथि पनि प्रश्न उठाए ।सरकारका राम्रा कामको श्रेय पार्टीले लिने तर विवादित र गलत कामको जिम्मेवारीबाट पन्छिने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो ।
सरकारको नेतृत्व गर्ने दलले सरकारका निर्णय र गतिविधिको राजनीतिक जिम्मेवारी लिनुपर्ने बताउँदै उनले सफलता र असफलता दुवैको जवाफदेहिता सत्तारूढ दलसँग जोडिने स्पष्ट पारे ।
४. सरकारी कर्मचारी पक्राउमा पनि कानुनी प्रक्रियामाथि प्रश्न
थापाले सरकारी कर्मचारीलाई कार्यस्थलबाटै प्रहरी लगाएर पक्राउ गरी प्रधानमन्त्री कार्यालय पुर्याइएको घटनामाथि पनि प्रश्न उठाए ।कर्मचारीले गल्ती गरेको भए त्यसको अनुसन्धान र कारबाही प्रचलित कानुन तथा स्थापित संस्थागत प्रक्रियाअनुसार हुनुपर्ने उनको भनाइ थियो ।
राज्यका निकाय र प्रशासनिक संरचनाले अवलम्बन गर्दै आएका प्रक्रिया मिचेर प्रहरी परिचालन गरी कर्मचारी पक्राउ गर्नु उचित नहुने उनले बताए । अन्त्यमा थापाले सरकारका गतिविधिमाथि निगरानी राख्दै लोकतन्त्र, प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको रक्षाका लागि कांग्रेसले निरन्तर खबरदारी गर्ने बताए ।









