काठमाडौं । नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङले ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि जितेकी छन्। रिबन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा शनिबार राति सम्पन्न प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन्।
खोटाङको दिक्तेलकी गुरुङले उपाधिसँगै स्कुटर प्राप्त गरेकी छन्। अधिवक्तासमेत रहेकी उनले अमेरिकामा आयोजना हुने विवाहित महिलाहरूको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। उनले ‘तपाईंको बजार बेस्ट पर्सनालिटी’ उपाधिसमेत जितेकी छन्।
प्रतियोगितामा नेहा गुप्ता फस्ट रनर्सअप बनिन् भने ज्योति लामिछाने सेकेन्ड रनर्सअप र सगुन खनाल थर्ड रनर्सअप घोषित भए। खनालले ‘हर्लिक्स बेस्ट फिजिक’ उपाधिसमेत प्राप्त गरिन्।
त्यस्तै, शिल्पा न्यौपाने महर्जन ‘मिसेस नेपाल इन्टरनेसनल २०२६’, क्रिस्टिना ज्ञवाली ‘मिसेस कोस्मो २०२६’ र ऋचा शर्मा ‘एमएस इन्टरनेसनल २०२६’ घोषित भए। यी उपाधिका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन्। मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलका विजेताले सिंगापुर तथा मिसेस कोस्मोकी विजेताले म्यानमारमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजकले जनाएको छ।
यसैबीच, नेपाली अभिनेत्री निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधिबाट सम्मान गरिएको छ। नेपाली चलचित्र क्षेत्रमा साढे तीन दशकभन्दा लामो समयदेखि पुर्याएको योगदान र उपलब्धिको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजक शिला बास्तोलाले जानकारी दिइन्।
कार्यक्रममा निरुताले अभिनय गरेका चलचित्रका गीतमा मोडल तथा अभिनेता यसराज गराच, शिला गजुरेल र ऋचा थापाले नृत्य प्रस्तुत गरेका थिए। उनीहरूले अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहलाई समेत मञ्चमा आमन्त्रण गरी नृत्यमा सहभागी गराएका थिए।
प्रतियोगितामा विभिन्न विधाका उपाधि पनि प्रदान गरिएको थियो। सन्ध्या लामाले ‘अर्ना मोस्ट इनर्जेटिक’, सुष्मा थापाले ‘निभिया फ्याबुलस फेस’ र ‘केडी फोटोग्राफी मोस्ट फोटोजेनिक’, अञ्जु परियारले ‘मोस्ट ट्यालेन्टेड’, शिल्पा न्यौपाने महर्जनले ‘बेस्ट हेयर’ तथा दीप्ति ढुंगेलले ‘हेल्दी स्किन’ उपाधि जिते।
त्यस्तै, क्रिस्टिना ज्ञवाली ‘बेस्ट र्याम्प वाक’, ऋचा शर्मा ‘मोस्ट पङ्चुअल’, समीक्षा रानाभाट ‘बेस्ट स्माइल’, श्वेच्छा पौड्याल ‘मोस्ट डिसिप्लिन्ड’, कञ्चन महर्जन ‘फेसन आइकन’, बिन्दु थापा राणा ‘मोस्ट कन्फिडेन्ट’, यास्मिन बेगम सैयद ‘मिसेस कन्जेनियालिटी’ र सुनिता श्रेष्ठ कर्माचार्य ‘मिसेस ह्युम्यानिटेरियन’ घोषित भए।
प्रतियोगितामा सहभागीलाई मिसेस वर्ल्ड २०२५ की विजेता चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी), अभिनेता राजेश हमाल र अभिनेत्री रेखा थापालगायतले पुरस्कार प्रदान गरेका थिए।
ह्विस्पर शीर्ष प्रायोजक तथा अर्ना इनर्जी ड्रिंक र निभिया सहप्रायोजक रहेको प्रतियोगिताको निर्णायकमा राजेश हमाल, रेखा थापा, नेपाल प्रहरीकी पूर्वएआईजी मीरा चौधरी, सिप्रदी अटोपार्ट्सका उपाध्यक्ष युवराज बुढाथोकी, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र मिसेस नेपाल वर्ल्ड २०२४ की विजेता डा. डेनिला कार्की रहेका थिए।









