काठमाडौं । ‘सीमापार साहित्यको उत्सव’ भन्ने नारासहित काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको ‘ग्लोबल अथर अवार्ड २०२६’ आयोजना गरिएको छ । आइतबार लाजिम्पाटमा आयोजित कार्यक्रममा विभिन्न देशका ४५ लेखक तथा व्यक्तित्वलाई फरक–फरक विधामा अवार्ड प्रदान गरिएको हो ।

इन्फिनिटी सर्भिसेज प्रालिको आयोजनामा भएको कार्यक्रममा नेपालसहित भारत, संयुक्त राज्य अमेरिका, सिंगापुर, फिजी, क्यानडा, बंगलादेश र संयुक्त अरब इमिरेट्सबाट सहभागी लेखक तथा साहित्यिक व्यक्तित्वहरू सम्मानित भएका छन् ।

ADVERTISEMENT

संस्थापक शीतल खड्काका अनुसार साहित्यिक उत्कृष्टताको सम्मान, समाजमा लेखकहरूको योगदानको पहिचान र विभिन्न राष्ट्रबीच आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

ADVERTISEMENT

कार्यक्रममा प्राज्ञिक क्षेत्र, साहित्य र अनुसन्धान क्षेत्रका व्यक्तित्व तथा पूर्वसांसद प्राडा चन्दा कार्की, प्राडा सुरेन्द्र केसी, भुवनहरि सिग्देल र संस्थापक खड्कालगायतले अवार्ड वितरण गरेका थिए ।

संस्थापक खड्काले साहित्यले राष्ट्र, संस्कृति र पुस्तालाई जोड्ने महत्वपूर्ण भूमिका खेल्ने बताइन् । यस कार्यक्रममार्फत नेपालको समृद्ध सांस्कृतिक सम्पदा र परम्परागत हस्तकलालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन पाउनु गौरवको विषय भएको उनको भनाइ थियो ।

अवार्ड पाउने लेखक तथा कृति

अवार्ड प्राप्त गर्नेमा नेपालका डा. फिलेमोन खड्का क्षेत्री, सञ्जय सिग्देल, सुशीलकुमार रिजाल, मधु पौडेल, रोहिणी राणा, चञ्चला दास, राजु नेपाल, केनी पाण्डे, राजु महर्जन, डा. सुनिता पान्त्रो, डा. राजेन्द्र केसी, आष्मान उपाध्याय, हिरा काजी श्रेष्ठ, डा. चित्रबहादुर क्षेत्री, वरुणकान्त अधिकारी, प्रा.डा. विकास देसार, मोहनकृष्ण श्रेष्ठ, डा. राजेन्द्रकुमार लाल दास, विक्रम भक्त जोशी र जनकबहादुर चेम्जोङलगायत छन् ।

त्यस्तै भारत, अमेरिका, सिंगापुर, अस्ट्रेलिया, क्यानडा, बंगलादेश र दुबईका लेखक तथा साहित्यिक व्यक्तित्व पनि सम्मानित भएका छन् ।

सम्मानित कृतिहरूमा ‘गोरखनाथ मन्दिर’, ‘टुप्पी बाजे’, ‘शिखण्डी’, ‘ए डिक्सनरी अफ बिजनेस टर्मिनोलोजिज’, ‘मिथिलाक उत्सव धारा’, ‘अभिनवगुप्त’, ‘श्रीमद्भागवद् गीता’, ‘अदर साइड अफ प्याराडाइज’, ‘बुद्ध जीवनी’, ‘देवता बनाउने मान्छे’, ‘द पावर अफ माइन्डसेट’, ‘कूटनीतिमा तीन दशक’, ‘चोभार ब्लुज’ र ‘न्यु ब्लुम्स एन्ड रेजिलिएन्स’ लगायत छन् ।

कार्यक्रमले नेपाली साहित्य, संस्कृति र सिर्जनात्मक योगदानलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने तथा विभिन्न देशका लेखकबीच सहकार्य र अनुभव आदानप्रदानको अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।